बागलुङ । गत चैत १९ गते राति जिल्लाको जलजला गाउँपालिकामा एक दम्पतीको क्रूर हत्यामा संलग्न भएकाहरूलाई पक्राउ गर्न सफल अनुसन्धान गरेको भन्दै पर्वत प्रहरीलाई सम्मान गरिएको छ।
जलजला गाउँपालिका–२ माझफाँटको दह निवासी ६९ वर्षीय सूर्यबहादुर घर्ती क्षेत्री र उहाँकी श्रीमती ६७ वर्षीया गमला घर्ती क्षेत्रीको वीभत्स हत्या गरेर लुटपाट भएको थियो।
घटनाको विषयमा पर्वत प्रहरीले सूक्ष्म र शान्त तरिकाले अनुसन्धान गरेकाले एक महिनाको समय लागे पनि दोषीहरू उम्किन नपाएको भन्दै गाउँपालिकाले जिल्ला प्रहरी कार्यालय पर्वतलाई सम्मान गरेको हो।
गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्य, उपाध्यक्ष दीपक आचार्य र प्रमुख प्रशासकीय अधिकृत फणीन्द्र प्रसाद आचार्य सहित वडाध्यक्ष, आम नागरिक उपस्थित रहेको कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक खुमलाल भुसालसहितका अन्य प्रहरी अधिकृत लगायतलाई सम्मान गरिएको हो।
गाउँपालिकाका अध्यक्ष आचार्यले अमानवीय तरिकाले भएको वीभत्स हत्यामा संलग्न भई फरार रहेका अपराधीहरूलाई कानुनी कठघरामा ल्याउन पर्वत प्रहरी हरतरहले खटिएको तथा राज्यको मूल अवधारणाबाट निर्दिष्ट, प्रभावकारी अपराध नियन्त्रण र अनुसन्धान एवं कानुन कार्यान्वयनद्धारा समाजमा शान्ति, सुव्यवस्था एवं सुरक्षा गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।
यसअघि गण्डकी प्रदेश प्रहरी कार्यालयले पनि डिएसपी खुमलाल भुसाल सहित अनुसन्धानमा खटिएको प्रहरी टोलीलाई सम्मान गरिसकेको छ। हत्याको कारण र हत्यारा पत्ता लगाउन सफल भएका प्रहरी कर्मचारीलाई सम्मान गर्दा उनीहरूमा जिम्मेवारी, इमान्दारी, बफादारी बढ्ने तथा उनीहरूको मनोबल उच्च रहने भएकोले गण्डकी प्रदेश प्रहरी कार्यालयले सम्मान गरेको थियो।
गत चैत १९ गते राती त्यो वृद्ध दम्पतीको हत्या भएकोमा त्यसको एक महिनामा गत वैशाख २० गते हत्याका अभियुक्तहरू सार्वजनिक गरिएका थिए।
जलजला गाउँपालिका–२ नेपाने घर भएका ३२ वर्षीय कृष्णबहादुर विश्वकर्मा र कुश्मा नगरपालिका–२ खुर्कोट घर भई हाल जलजला गाउँपालिका–२ बौरमा बस्दै आएका ३२ वर्षकै दीपक दर्जीले उनीहरूको हत्या गरेर शरीरमा रहेका गहना तथा पसलमा रहेका नगद लुटेर लगेको प्रहरी अनुसन्धानमा खुलेको थियो।