म्याग्दीका कृषकले लगाए एक करोड बढीको आलुको बिउ

बागलुङ । म्याग्दीका कृषकहरुले यस वर्ष झण्डै नौ सय रोपनी क्षेत्रफलमा एक करोडभन्दा बढी मुल्य पर्ने वर्षे आलुको बिउ रोपेका छन् ।

समुदायस्तरमा प्रविधियुक्त कृषि उत्पादन प्रवद्र्धन आयोजना अन्तर्गत खायन आलु उत्पादन प्रवद्र्धन कार्यक्रम मार्फत म्याग्दी जिल्ला भित्रका १३ वटा कृषक समूहले एक करोड तीन लाख ७४ हजार पाँच सय ९४ रुपियाँ मुल्यको आलुको विउ खरिद गरेर लगाएका हुन् ।

१३ वटा कृषक समूहका करिब दुई सय परिवारले म्याग्दीको रघुगंगा, धवलागिरी, मंगला, धवलागिरी गाउँपालिका र बेनी नगरपालिकाको ८ सय ९८ रोपनी क्षेत्रफलमा उक्त मूल्य बराबरको आलु लगाइएको कृषि ज्ञान केन्द्रका नायव प्राविधिक सहायक नवराज भुषालले बताउनुभयो ।

कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष वर्षे आलुका लागि विभिन्न १५ वटा कृषक समूह छनौट भएको भए पनि कार्यक्रमका लागि सम्झौता गर्न १३ वटा समूह मात्रै आएका थिए ।

ज्ञान केन्द्रले आलु प्रवद्र्धन कार्यक्रम अन्तरगतको खायन आलु उत्पादन प्रवद्र्धन अन्तरगत आलु लगाइएको क्षेत्रको अनुगमन गर्दा उत्पादकत्व राम्रो हुने देखिएको कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जिव बाँस्तोलाले जानकारी दिनुभयो ।