images
images

उर्वराशक्ति बढाउन प्राकृतिक खेती अभियान सुरु

बागलुङ । रासायनिक मल र बढ्दो विषादीको प्रयोगले खेतबारीको उत्पादन शक्ति ह्रास हुँदै गएपछि पर्वतका केही ग्रामीण बस्तीमा प्राकृतिक खेती अभियान थालिएको छ । वातावरणलाई कम क्षति हुने र प्राकृतिक स्रोत साधनको अधिकतम प्रयोग गर्नेगरी प्राकृतिक खेती अभियान थालिएको हो ।

समाज कल्याण स्रोत विकास केन्द्रले गुड नेवर्स इनटरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन गरेको एकीकृत सामुदायिक विकास परियोजनाअन्तर्गत प्राकृतिक खेती अभियान थालिएको परियोजना अधिकृत रमेश रिजालले बताउनुभयो ।

परियोजनाले पर्वतका मोदी गाउँपालिका वडा नं. ४ क्याङ, फलेवास नगरपालिका वडा नं. ७ लिमिठाना र वडा नं ९ भंगराका गरी २ सय किसानलाई आवश्यक ज्ञान, सीप, औजार र बीउ प्रदान गरी प्राकृतिक खेती कार्यक्रम सञ्चालन गरिरहेको छ ।

तीन वडावाट सुरु गरिएको प्राकृतिक खेतीलाई जिल्लाभर विस्तार गरिने संस्थाको योजना छ । प्राकृतिक खेतीलाई कृषि विज्ञानमा आधारित खेती प्रणालीमा विकास गरिने छ । बाली, रूख र पशुधनलाई जौविक विविधतासँग एकीकृत गरी खेती गर्न किसानलाई आकर्षित गरिने रिजालले बताउनुभयो ।

प्राकृतिक खेती पद्धतिमा रसायनको प्रयोग नगरी प्राकृतिक सामग्रीको प्रयोग गरिने भएकाले माटोमा कुनै असर नगर्ने विज्ञहरुको सुझाव छ । सामग्री स्थानीय स्तरमा पाइने तथा आवश्यक सेवा बजारबाट खरिद नगरी किसान आफैँले उत्पादन गर्ने हुँदा उत्पादन लागत समेत घट्ने छ ।

प्राकृतिक खेतीले वातावरणमैत्री, उच्च प्रतिफल, कम लागत, उच्च गुणस्तर, अनुकूलन योग्य र किसानमैत्री रहने परियोजना अधिकृत रिजालको भनाई छ । यो प्रविधिले स्वास्थ्यलाई फाइदासंगै जमिनको उर्वराशक्ति बढ्ने क्याङका किसान नरसिङ पुनले बताउनुभयो ।