
बागलुङ । पछिल्लो समय बागलुङमा पानीका स्रोत संरक्षण गर्न थालिएको छ । सरकारी निकाय र स्थानीय तहको सक्रियतामा मुहान तथा पोखरी संरक्षण गर्न थालिएको हो ।
सडक निर्माण, जलवायु परिर्वतन तथा भूकम्पका कारण पानीका मुहान सुक्दै गएपछि संरक्षणको पहल थालिएको हो । तीन वर्षअघि मात्रै खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले पहिलोपटक बागलुङ नगरपालिका–८ सिगानास्थित छरछरे खानेपानी आयोजनाको मुहान संरक्षण गरेको थियो ।
खानेपानी तथा सरसफाई डिभिजनले मुहान सुक्दै जान थालेपछि संरक्षणका लागि सिगानाबाट अभियान थालेको थियो । छरछरे खानेपानी आयोजनाको मुहान मोटरबाटोका कारण भाँसिन थालेपछि ४ लाख बजेटमा चुहावट नहुने गरी संरक्षण गरिएको थियो ।
यस्तै, काठेखोला गाउँपालिका वडा नं. ४ तंग्राममा खानेपानीका मूल सुक्न थालेपछि खोरताललाई संरक्षण गरी ‘रिचार्ज’ पोखरीका रुपमा विकास गर्नेगरी काम थालिएको छ । गण्डकी प्रदेश सरकारको ३० लाख बजेटमा पोखरीको संरक्षण थालिएको हो ।
डिभिजनले थालेको मुहान संरक्षण अभियानलाई नगरपालिकाले साथ दिएको छ । नगरको रुम्टास्थित खानेपानीको मुहान संरक्षण गरी संकलन गर्ने व्यवस्था वडा कार्यालयले मिलाएको हो ।
वडाले रुम्टामा मुहान संरक्षण, गहतेमा खानेपानी धारा व्यवस्थापन र हनुमानपौवामा पानीको मुहान संरक्षण गरी नयाँ खानेपानीको धारा जडान गरिएको वडा नं. ३ का अध्यक्ष सनी केसीले जानकारी दिनुभयो ।
वडा कार्यालयले थोरै लागतमा प्रभावकारी कामका लागि चौतारी, मुहान पुरानो धारा संरक्षणलाई अभियानका रुपमा लिएको छ । चौतारी संरक्षण तथा मर्मत, हनुमानपौवा, रुम्टा मुहान र गहते धारा संरक्षणमा ८० हजार खर्च भएको वडाध्यक्ष केसीले बताउनुभयो ।