images
images

पाँच बर्षपछि म्याग्दीमा नापतौल यन्त्रको दर्ता र नविकरण शिविर

म्याग्दी, म्याग्दीमा पाँच बर्षपछि आयोजना गरिएको नापतौल दर्ता र नवीकरणमा साढे २ सयभन्दा बढी ब्यवसायी लाभान्वित भएका छन् ।

म्याग्दी उद्योग वाणिज्य संघको समन्वयमा नापतौल तथा गुणस्तर विभागको पोखरास्थित कार्यालयले सदरमुकाम बेनी र गलेश्वर बजारमा आयोजित नाप तौल परीक्षण शिविरमा नयाँ २२ जना र पूराना २ सय ५० ब्यवसायीले नविकरण गरिएको हो ।

शिविरमा मिटर, लिटर र ढक तराजुजस्ता यन्त्र मापदण्डअनुसार भएनभएको चेकजाँच गर्दै कम तौल भएका यन्त्र मिलाउने, दर्ता र नवीकरण नभएकाको नवीकरण गर्ने र यसअघि नै प्रयोगमा ल्याइए पनि दर्ता नभएका यन्त्र नयाँ दर्ता गरिएको म्याग्दी उद्योग वाणिज्य संघ म्याग्दीका अध्यक्ष सुविन श्रेष्ठले बताए ।

शिविरमा गुणस्तर तथा नापतौल कार्यालय पोखराबाट आउनुभएका युवराज अधिकारी सहितको टोलीले सेवाग्राही र ब्यवसायीको इमान्दारिताका लागि समेत नापतौल दर्ता र नवीकरण कार्य समयमै गर्नुपर्ने बताउँछन् । म्याग्दी उद्योग वाणिज्य संघले अनुगमन तथा यन्त्र उपकरणहरुका बारेमा ब्यवसायीलाई कुनै समस्या भएमा वा बिग्रिएमा समेत अन्य समयमा समेत सहजीकरण गर्ने गरेको छ।