images
images

महिलाहरुका लागि २ दिने सहकारी व्यवस्थापन तालिम सम्पन्न

गलकोट नगरपालिका वडा नं. ५ का सहकारीकर्मी महिलाहरुका लागि २ दिने सहकारी व्यवस्थापन तालिम सम्पन्न भएको छ ।

सहयोगी महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र वडास्तरीय आमा समुहको संयुक्त आयोजनामा भएको तालिममा सहकारी संस्थाका पदाधिकारी तथा सदस्यहरु र कर्मचारीको सहभागिता रहेको थियो ।

तालिमको गलकोट नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष पवन हमालले उद्घाटन गर्नुभएको थियो । सो अवसरमा बोल्दै वडा अध्यक्ष हमालले सहकारी क्षेत्रमा देखिएको निराशालाई चिर्दै सहकारीमार्फत समुदायको आर्थिक विकास र सामाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान गर्नका लागि सहकारीको व्यवस्थापनमा सुधार ल्याउनु पर्नेमा जोड दिनु भएको थियो ।

तालिममा सहकारी संस्थामा सञ्चालक र लेखा सुपरीवेक्षण समितिको काम कर्तव्य र अधिकार, सहकारीको व्यवस्थापनमा कर्मचारीको भूमिका, स्थानीय सहकारी ऐन नियम, सहकारीलाई प्रभावकारी रुपमा सञ्चालनका लागि सदस्यहरुको भूमिका लगायतका विषयमा सहजीकरण गरिएको थियो ।

तालिममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहजीकरण गर्नुभएको थियो ।

साविक हरिचौर गाविस कार्यक्षेत्र रहेको सहयोगी महिला विकास बहुद्दउद्देश्यीय सहकारी संस्थामा हाल ५ सय ६० जना शेयर सदस्य, ५० लाख शेयर रकम, १ करोड ४५ लाख वचत रकम, २ करोड ३ लाख ऋण लगानी सहित २ करोड ५५ लाख कुल सम्पत्ती रहेको संस्थाका लेखापाल रोजिना मल्लले जानकारी दिनुभयो ।