images
images

पुख्र्यौली नृत्य गरेर सामुदायिक विद्यालयका शिक्षकको तलब जुटाउदै

म्याग्दीको धवलागिरि गाउँपालिका–५ को दुर्गम बस्ती मलम्पारका स्थानीयले पुख्र्यौली नृत्य गरेर सामुदायिक विद्यालयका शिक्षकको तलब जुटाउने गरेका छन् । पुख्र्यौली नृत्य गरेर संस्कृति जोगाउँदै आएका मलम्पारका स्थानीयले सामुदायिक विद्यालयका शिक्षकहरुको तलब समेत जुटाउदै आएका हुन् ।

गाउँमा विवाह, छेवर र धार्मिक कार्यमा छन्त्याल समुदायको पुख्र्यौली नाच मारुनी नाचेर रकम सङ्कलन गरिँदै आएको उनिहरुले बताएका छन् । छन्त्याल समुदायले मारुनी नाचको संरक्षणका लागि समूहनै गठन गरेर गाउँमा विवाह व्रतबन्ध, छेवर, पुर्पुरोलगायत सांस्कृतिक तथा धार्मिक कार्यमा सक्रिय हुदै आएको बताइएको छ ।

मलम्परावासीले पुख्र्यौली नाचेर महेन्द्र आधारभूत विद्यालय सञ्चालन गर्न २२ वर्षदेखि रकमको जोह गर्दै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर छन्त्यालले बताउनुभयो । छन्त्याल समुदायमा जेठा छोराको हर्षबढाइँ गर्न पुर्पुरो, विवाह, छेवर, व्रतबन्धलगायतका धार्मिक कार्यमा पुख्र्यौली नाच्ने प्रचलन रहेको उहाँको भनाई थियो ।

कक्षा ८ सम्म सञ्चालित उक्त विद्यालयमा तीन जना शिक्षकको तलब भत्ता र अन्य खर्च चलाउन नाचेर रकम सङ्कलन गर्ने गरिएको जनाइएको छ । शिक्षक र कर्मचारी गरेर विद्यालयमा नौ जना कार्यरत रहेका छन् । उहाँका अनुसार पुख्र्यौली नाचेर वार्षिक चारदेखि छ लाख रुपियाँसम्म सङ्कलन हुने गरेको छ ।

त्यसैले दुःख गरेरै विद्यालयमा कार्यरत तीन जना शिक्षकलाई मासिक पारिश्रमिकको जोहो गर्न पुख्र्यौली नाचेर रकम सङ्कलन गरिँदै आएको हो ।