बागलुङ, बढ्दो सवारी दुर्घटना न्युनिकरणका लागि बागलुङमा मंगलबार देखी ट्राफिक सप्ताह शुरु गरिएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय बागलुङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङको समन्वयमा ट्राफिक सप्ताहको शुभारम्भ गरिएको हो । ट्राफिक सप्ताहको उद्घाटन मंगलबार सवारी चालक लाई हेल्मेट लगाएर गरिएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति प्रमुख अमरबहादुर थापाले सवारी नियम लाई बेवास्ता गर्दा दुर्घटनाको जोखिम बढ्दै गएको बताउनुभयो । विधिपुर्वक सवारी चलाएमा दुर्घटनाका घटना कम हुने चर्चा गर्दै उहाँले”सवारी नियमको पुर्ण पालना गर्नुपर्नेमा जोड दिनुभयो । सडक अनुशासन कायम गर्नका लागि बिद्यालयको पाठ्यक्रममा समेत ट्राफिक सचेतनाका बिषयहरु समेट्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा बागलुङ नगरपालिकाका उप–प्रमुख राजु खड्काले ट्राफिक व्यवस्थापनका लागि निजी क्षेत्र संग समन्वय गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा यातायात व्यवस्था कार्यालयका प्रमुख गोमादेबी शर्मा,राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ र धौलागिरी यातायात प्रालिका अध्यक्ष उमेश केसी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
ट्राफिक सप्ताहको पहिलो दिने ट्राफिक सचेतना मुलक प्लेकार्डसहित बागलुङ बजारका विभिन्न स्थानमा सचेतनामुलक र्याली पर्दशन गरिएको थियो ।
कार्यक्रम प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको अध्यक्षता, ट्राफिक प्रहरी प्रमुख सुमन निउरेको स्वागत मन्तव्य र प्रहरी निरिक्षक दिपकबाबु केसीको संचालनमा सम्पन्न भएको थियो ।
दोस्रो दिन तथा वैशाख २६ गते चोकचोकमा ट्राफिक प्रहरीसँगै स्वयंसेवक परिचालन गर्ने, जनचेतनामूलक पर्चा पम्प्लेट वितरण, पैदल यात्रुलाई बाटो काट्न सिकाउने खाल्डाखुल्डी पुर्ने कार्यक्रम रहेको ट्राफिक प्रमुख निउरेले जानकारी दिनुभयो ।