बागलुङका विकट मानिने रमुवा गाउँमा पहिलो पटक केन्द्रीय प्रसारण लाइन पुग्यो, स्थानिय खुसी

बागलुङको अत्यन्तै विकट मानिने रमुवा गाउँमा पहिलो पटक केन्द्रीय प्रसारण लाइन पुगेको छ । गलकोट नगरपालिका–१० स्थित रमुवा गाउँमा विसं २०६२ सालमा लघु जलविद्युत् पुगे पनि हिउँदको समयमा अन्धकारमा बस्नुपर्ने बाध्यता थियो । नेपाल विद्युत प्राधिकरणले यही वैशाख २४ गते केन्द्रीय प्रसारण लाइन बिस्तार गरेको हो ।

गाउँमा केन्द्रीय प्रसारण लाइन पुगेपछि स्थानीय हर्षित भएका छन् । बर्खाको समयमा मात्र बिजुली बाल्न पाउन रुमुवावासीले अब बाह्रै महिना विद्युत प्रयोग गर्न पाउनेभएका छन् ।

अठार वर्ष अगाडि ठूलो खोला लघु जलविद्युत् आयोजना सञ्चालनमा आएपछि रमुवा गाउँमा बिजुली पुगेको थियो । तर खोलामा पानीको बहाव कम हुँदा समस्या भएको थियो । जसकारण गाउँमा बिजुली आपूर्तिमा समस्या हुँदै आएको थियो ।

जिल्ला सदरमुकाम बागलुङ बजारदेखि ७६ किलोमिटर उत्तर पश्चिममा रहेको रमुवा तुलनात्मकरुपमा विकटमा पर्छ । आदिवासी जनजाति समुदायको बाहुल्यता रहेको रमुवाका स्थानीय कृषि र पशुपालनमा आवद्ध रहँदै आएका छन् । गाउँमा केन्द्रीय प्रसारण लाइन पुगेपछि स्थानीय उत्पादनलाई प्रशोधन र बजारीकरणमा सहज पुग्ने विश्वास लिइएको छ ।

गलकोट नगरपालिका–१० का पूर्वअध्यक्ष तिलक घर्ती मगरले केन्द्रीय प्रसारण लाइन नहुँदा रमुवाका हजारौँ नागरिक अन्धकारमा बस्नुका साथै सूचना सञ्चारबाछ टाढा हुनु परेको बताउनुभयो । गाउँमा सञ्चालनमा रहेको लघु जलविद्युत् आयोजनाले एउटा चिम पनि नबल्न नसक्ने र नेपाल टेलिकमको टावरसमेत सञ्चालन नहुँदा टेलिफोन सेवा अवरुद्ध हुँदै आएको उहाँको भनाइ छ । अब ती समस्या समाधान हुने विश्वास लिएको घर्ती मगरले बताउनुभयो

नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख पवन पौडेलले भौगोलिक विकटताका बाबजुत लामो समयको प्रयासमा यहाँ विद्युत् पु¥याउन सफल भएको बताउनुभयो । अघिल्लो वर्षदेखिनै रमुवामा विद्युत् पु¥याउनका लागि काम गरेपनि यस वर्ष पुगेको उहाँको भनाइ छ । रमुवामा लाइन ल्याउनका लागि करिब डेढ करोड रकम खर्च भएको प्रमुख पौडेलले बताउनुभयो ।