images
images

बागलुङमा जिल्ला छनौट प्रतियोगिता र जिल्ला लिग फुटबल प्रतियोगिता हुने भएको छ

बागलुङमा जिल्ला छनौट प्रतियोगिता र जिल्ला लिग फुटबल प्रतियोगिता हुने भएको छ ।

बागलुङ जिल्ला फुटबल संघले बैशाख २६ गतेदेखि २८ गतेसम्म जिल्ला छनौंट चरण (नकआउट) चरणको खेल र ३१ गतेदेखि जेठ ६ गतेसम्म जिल्ला लिग फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय भएको छ ।

बागलुङ जिल्ला फुटबल संघका अध्यक्ष जय राजभण्डारीले नवप्रवेशी ३ टिम र पहिले रेलिगेशनमा परेका दुई टिम गरी ५ टिम विच बैशाख २६ गतेदेखि नकआउट चरणको खेल संचालन हुने बताउनुभयो ।

उहाँले नकआउट चरणमा अमर आदर्श स्पोर्टस् क्लब, तमान युवा क्लब, संयुक्त चार युवा क्लब र बागलुङ एकता क्लब र आदर्श विद्यामन्दिर खेलकुद क्लबले प्रतिष्पर्धा गर्ने जानकारी दिनुभयो । नकआउट चरणको विजेता टिमले अर्को वर्ष हुने जिल्ला लिग फुटबल प्रतियोगितामा बढुवा हुने बागलुङ जिल्ला फुटबल संघका महासचिव रेशम गोतामेले जानकारी दिनुभयो ।

यस्तै बैशाख ३१ गतेदेखि जेठ ६ गतेसम्म संचालन हुने जिल्ला लिग फुटबल प्रतियोगितामा ८ टिमको सहभागिता रहनेछ । फुटबल संघले ८ टिमलाई दुई समुहमा विभाजन गरेर लिग संचालन गर्न लागेको जनाएको छ ।
लिगमा पावर फिटनेस क्लब, बागलुङ कालिका युवा क्लब ‘बागलुङ सुधार केन्द्र’, वीर गोर्खाली युवा क्लब, रामरेखा फुटबल क्लब, कालिका भगवती युवा क्लब, बालजीवन खेलकुद क्लब, रुद्रेपिपल युवा क्लब र गुठी युनाईटेड क्लबले प्रतिष्पर्धा गर्ने छन् । संघले लिगमा सहभागि हुने टिमले धौलागिरी अञ्चल बाहिरका दुई र छिमेकी जिल्ला पर्वत, म्याग्दी र मुस्ताङका चार जना गरी ६ जनासम्म खेलाडीहरु राख्न पाउने नियम गराएको महासचिव गोतामेले बताउनुभयो । उहाँले नकआउट चरणका खेलमा सहभागि हुने टिमले जिल्ला बाहिरका खेलाडीहरुलाई समावेश गर्न नपाउने बताउनुभयो ।

फुटबल संघले शनिबार नकआउट चरण र लिगको समय तालिका समेत सार्वजनिक गरेको छ । नकआउट चरणको पहिलो खेल संयुक्त चार युवा क्लब र आदर्श विद्यामन्दिर विच हुनेछ । यस्तै पहिलो सेमिफाइनल अमर आदर्श स्पोर्टस् क्लब र बागलुङ एकता क्लब विच हुनेछ भने दोस्रो सेमिफाइनल तमान युवा क्लब र पहिलो खेलको विजेता टिम विच हुनेछ ।