images
images

बागलुङको काठेखोला गाउँपालिकामा उत्पादन सुरु भएको कोदोको बिस्कुट छोटो समयमै उपभोक्ताको रोजाइमा

बागलुङको काठेखोला गाउँपालिकामा उत्पादन सुरु भएको कोदोको बिस्कुट छोटो समयमै उपभोक्ताको रोजाइमा परेको छ । काठेखोला गाउँपालिका– ८ लेखानी कादेशका चानसिंह श्रीसले सुरु गर्नु भएको कोदोको बिस्कुट उत्पादन तीन महिनामै माग धान्न नसक्ने अवस्थामा पुगेको हो ।

पुरानो खाद्य बालीका रुपमा रहेको कोदोलाई ‘ब्रान्डिङ’ गर्न गत फागुनदेखि बिस्कुट उत्पादन गरी उहाँले बजारमा पठाउनु भएको थियो । बिस्कुट बजारमा पुगेपछि माग ह्वात्तै बढेको उहाँले बताउनुभयो ।

गाउँमै उद्यम गरेर स्वरोजगार बन्न सात वर्षदेखि कोदोको बिस्कुट बनाउन अनुसन्धान गरेपछि उत्पादन सुरु गर्नु भएका ३४ वर्षीय युवा श्रीसले उद्योग फस्टाउन थालेपछि पाँच जनालाई प्रत्यक्ष रोजगारी दिएको जानकारी पनि दिनुभयो ।

मागको ३० प्रतिशत मात्रै कोदोको बिस्कुट बजारमा पठाउन सकेको उहाँले बताउनुभयो । अझै ७० प्रतिशत माग पु¥याउन बाँकी रहेकाले त्यसका लागि भारतबाट अत्याधुनिक बिस्कुट बनाउने उपकरण भित्राउने तयारीमा रहेको श्रीसको भनाई रहेको छ ।

एक महिनाभित्र उक्त उपकरण आएपछि माग अनुसार उत्पादन हुने उहाँको भनाइ छ । विसं २०७७ मा स्थापना गरिएको उद्योगले अहिले कोदोको बिस्कुट उत्पादन गरेर बजारमा पु¥याएको हो । लामो समयदेखि आलु, कोदो, जौ र मकैको बिस्कुट बनाउन अध्ययन पश्चात् पहिलो चरणमा कोदोको बिस्कुट उत्पादन गरेको श्रीसले बताउनुभयो ।