images
images

खनजोत गरेर ठिक्क पारेपछि तरकारीको बेर्ना खरिद

मुस्ताङका कृषकले आफ्नो तरकारी रोप्ने क्षेत्रमा खनजोत गरेर ठिक्क पारेपछि तरकारीको बेर्ना खरिद गर्न थालेका छन्। मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फामा रहेको शीतोष्ण वागवानी विकास केन्द्र मार्फाले उत्पादन गरेको तरकारीको बेर्ना बिक्रीका लागि सूचना जारी गरेसँगै आइतबार बिहानैदेखि मार्फामा तरकारी खेती गर्ने कृषकको भीड लागेको छ ।

केन्द्रले वैशाख २१ गते सूचना जारी गरेर २३ गते बाट विरुवा बिक्री वितरण गर्ने भनेपछि आइतबार बिहानैदेखि वागवानी विकास केन्द्रमा विरुवा किन्ने कृषकको भीड लागेको वागवानी विकास केन्द्र मार्फाका निमित्त प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिनुभयो।

मुस्ताङको पाँच वटै गाउँपालिकामा सूचना जारी गरिएकोले पनि सबै गाउँपालिकाबाट तरकारीको बेर्ना खरिदका लागि कृषक आइपुगेको उहाँको भनाइ छ।थासाङ गाउँपालिका, घरपझोङ गाउँपालिका, बारागुङ मुक्तिक्षेत्र गाउँपालिका, लोघेकर दामोदर कुण्ड गाउँपालिका तथा लोमन्थाङ गाउँपालिकाका कृषक पनि तरकारीको बेर्ना खरिदका लागि मार्फा आएको उहाँको भनाइ छ ।

शीतोष्ण बागवानी विकास केन्द्रले यो वर्ष काउली, बन्दा, ब्रो काउलीका हाइब्रिड बेर्नालाई प्रति बेर्ना दुई रुपियाँका दरले बिक्री गरिरहेको छ।

त्यस्तै गोलभेडाको विरुवा प्रतिगोटा तीन रुपियाँ, पिरो खुर्सानी र भेडे खुर्सानीको बेर्ना प्रतिगोटा दुई रुपियाँ र भेन्टाको बेर्ना पनि प्रतिगोटा दुई रुपियाँको दरले बिक्री गरेको आत्रेयले बताउनुभयो।
काउली बन्दा तथा ब्रोकाउलीको बेर्ना एक कृषकले बढीमा एक सय गोटासम्म खरिद गरेर लैजाने व्यवस्था गरिएको छ।गोलभेडा, खुर्सानी र भान्टाको विरुवा ५० वटा मात्रै एक जनाले लैजान सक्ने व्यवस्था गरिएको छ।