बागलुङको निसीखोला गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको सरुवाप्रति नेपाली कांग्रेस निसीखोलाले आपत्ति जनाएको छ । गैर जिम्मेवार व्यक्तिहरूले पहुँचको दुरुपयोग गरी राष्ट्र सेवक कर्मचारीलाई हप्ता दिन नहुँदै षड्यन्त्रपूर्ण ढंगले सरुवा गरी मान मर्दन गरेको भन्दै आपत्ति जनाएको हो ।
कांग्रेस निसीखोला गाउँपालिकाका सचिव राजमन बुढा मगरद्वारा हस्ताक्षरित विज्ञप्तीमा पालिकामा खटिएको कर्मचारीलाई एक साता नबित्दै सरुवा गर्नु दुःखद भएको बताइएको छ । उक्त विज्ञप्तीमा गैर जिम्मेवार व्यक्तिहरूले पहुँचको दुरुपयोग गरी कार्यभार सम्हालेको हप्ता दिन पनि नपुग्दै षड्यन्त्रपूर्ण ढंगले सरुवा गरी सेवा गर्न आएको एक राष्ट्र सेवक कर्मचारीको मान मर्दन तथा सिंगो पालिकाको बदनाम गर्न खोजिएको प्रति नेपाली कांग्रेस निसीखोला गाउँपालिका निन्दा र भर्त्सना गरेको जनाइएको छ ।
कांग्रसले नेकपा एमालेले गाउँपालिकाको सम्पूर्ण सेवा ठप्प हुने गरी तालाबन्दी गरेकोप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै वार्ता र सम्वादको माध्यमवाट समस्याको समाधान गर्न र निसीखोला गाउँपालिकामा लगाइएको ताला विना सर्त खोल्न आग्रह समेत गरेको छ ।