images
images

बागलुङका तीन स्थानिय तहमा पाठेघर तथा आङ खस्ने महिलाहरुका लागि नि:शुल्क स्क्रिनिङ शिविर हुने

बागलुङ,धौलागिरि अस्पताल बागलुङको आयोजनामा बागलुङका तीन स्थानिय तहमा पाठेघर तथा आङ खस्ने महिलाहरुका लागि नि : शुल्क स्क्रिनिङ शिविर हुने भएको छ ।

महिलाहरुको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै गण्डकी प्रदेशको सामाजिक तथा स्वास्थ्य मन्त्रालयको सहयोग र स्थानिय तहका स्वास्थ्य कार्यालयहरुको समन्व्यमा बागलुङ बरेङ गाउँपालिका, जैमिनी नगरपालिका र काँठेखोला गाउँपालिकामा शिविर संचालन गरिने भएको हो ।

धौलागिरि अस्पताल बागलुङले पत्रकार सम्मेलनको आयोजना गरि बरेङ गाउँपालिकामा बैसाख २९ गते, जैमिनी नगरपालिका जेठ ५ गते र काँठेखोला गाउँपालिकामा जेठ १२ गते शिविर संचालन गर्ने तय भएको जानकारी दिएको छ ।

शिविरको वारेमा जानकारी दिदै अस्पतालका प्रमुख कन्सलटेन्ट गाइनोलोजिष्ट डाक्टर रेखा पौडेलले जिल्ला तीन स्थानिय तहमा पाठेघर सम्वन्धी स्क्रिनिङ शिविर संचालन गरिने र शल्यक्रिया गर्नुपर्ने अवस्थाका बिरामी भेटिएमा धौलागिरि अस्पतालमा निशुल्क शल्यक्रिया गरिने बताउनुभयो ।

सो अवसरमा ३० बर्ष उमेर नाघेका महिलाहरुको भिआइए टेष्ट, स्तन क्यान्सर र हात्तीपाइले रोगसंग सम्वन्धीत सेवा पनि उपलव्ध गराइने उहाँको भनाई थियो । उहाँले आफुलाई शंका लागेका बिरामीले रोग नलुकाई खुलेर उपचार गर्न आग्रह गर्नुभयो ।

कार्यक्रम अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद शर्मा पौडेलको अध्यक्षता, मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रविरञ्जन प्रधानको स्वागत र नवराज पौडेलको संचालनमा सम्पन्न भएको थियो ।