images
images

बागलुङमा एक सय वर्षदेखि बन्द तामाखानी अध्ययनका लागि अनुमति

खानी तथा भूगर्भ विभागले बागलुङको तमानखोला गाउँपालिकामा रहेको तामाखानीको अवस्था अध्ययन अनुमति दिएपछि स्थानीय उत्साहित भएका छन् । एक सय वर्षदेखि बन्द अवस्थामा रहेको भनिएको तामाखानी अध्ययनका लागि सरकारले अनुमति दिएपछि सो क्षेत्रका स्थानीय पुनः खानी सञ्चालनमा आउने आशासहित उत्साहित भएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले जानकारी दिनुभयो ।

खानी तथा भूगर्भ विभागले श्रेया जलान समूहलाई अध्ययनका लागि अनुमति प्रदान गरिएको जानकारी आएको उहाँले बताउनुभयो । विभागका जियोलोजिष्ट रवि आचार्यले पनि तमानखोला गाउँपालिकाको ११ वर्ग किलोमिटर क्षेत्रफलमा तामाखानी अध्ययनका लागि आगामी २०८४ असोज १४ गतेसम्म ४ वर्षका लागि अध्ययन अनुमति दिइएको जानकारी दिनुभयो ।

तामाखानीको अध्ययन प्रतिवेदनका आधारमा थप रणनीतिसहित सरकारले आवश्यक काम गर्ने पनि उहाँले बताउनुभयो । तामाखानीको अध्ययन गर्नका लागि अनुमति पाएपछि स्वीडेन र अस्ट्रेलियन भूगर्भविद्सहितको टोलीले अध्ययन अगाडि बढाउने तयारी भइरहेको श्रेया जलानका प्रतिनिधि भूगर्भविद् बलराम कार्कीले बताउनुभयो ।

तमानखोला गाउँपालिका–६ नर्जाखानीसहित तमानखोला क्षेत्रमा एक सय वर्षअघिसम्म तामाखानी उत्खनन् हुनेगरेको स्थानीयको दावी रहेको छ । रैथाने छन्त्याल जातिले घरेलु प्रविधिबाट तामा निकाल्ने गरेकामा तत्कालीन सरकारले कर उठाउने थालेपछि विसं १९८१ देखि तामा निकाल्न छोडेका जानकारहरूको भनाइ रहेको छ ।