जोमसोममा ८ करोडको तटबन्ध निर्माण गरिँदै

जोमसोम बजारलाई कालिगण्डकी कटानबाट जोगाउन बृहत कालिगण्डकी नदी नियन्त्रण तटबन्ध योजना अघि बढेको छ । संघीय सरकार अन्तर्गतको जलश्रोत तथा सिंचाई विभागले मुस्ताङको मुटु जोमसोममा कालिगण्डकी नदी नियन्त्रण तटबन्ध योजना कार्यान्वयनमा ल्याउन लागेको हो ।

जोमसोम बजारलाई कालिगण्डकी नदीको कटानबाट जोखिम न्यूनिकरण गर्ने उद्देश्यले जलश्रोत तथा सिंचाई विभागले अनुमानित करिब १० करोड लागत स्टमेट गरेको थियो । विभागद्वारा ठेक्का आह्वान भएसँगै बिहीबार यसको ठेक्का सम्झौता भइसकेको विभागका सिनियर डिभिजन इन्जिनियर प्रेम लासिवाले जानकारी दिनुभयो ।

घरपझोङ—४ जोमसोममा निर्माण गरिने तटबन्ध निर्माणको जिम्मा साकुरा इन्ड्राइन जेभी कन्टक्सन काठमाडौंले पाएको छ । सो निर्माण कन्टक्सनले कूल लागतको १७ प्रतिशत बिलो छोडेर ७ करोड ९९ लाख लागतमा ठेक्का सम्झौता गरेको हो ।

घरपझोङ गाउँपालिका–४ जोमसोम बजार जोगाउन जोमसोम पक्की पुल तलदेखि जिल्ला प्रशासन कार्यालय र नेपाली सेनाको आर्मी क्याम्प जोड्ने झोलुङे पुलसम्मको दुरीको दुई स्थानमा कालिगण्डकी छेक्न तटबन्ध निर्माण गर्ने तयारी भइरहेको विभागका सिनियर डिभिजन ईन्जिनीयर लासिवाले बताउनुभयो । जोमसोम पक्की पुल र झोलुङे पुलको दुरीमा दुई ठाउँमा गरी कुल ४१८ मिटर लम्बाईको तटबन्ध निर्माण हुने सिनियर डिभिजन इन्जिनियर लासिवाको भनाइ छ ।

जोमसोममा निर्माण गरिने तटबन्धको ठेक्का सम्झौता अनुसार साँढे ३ मिटर गहिराई तल र ३ मिटर नदीको सतहभन्दा माथि तटबन्ध बाँध निर्माण हुनेछ ।