images
images

बागलुङमा सहकारी लेखा तथा व्यवस्थापन तालिम शुरू

बागलुङमा सहकारी लेखा तथा व्यवस्थापन तालिम शुरू आदर्श अनलाइन, बागलुङ सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको आयोजना र जिल्ला सहकारी संघ लिमिटेड बागलुङको समन्वयमा सहकारी लेखा तथा व्यवस्थापन तालिम शुक्रबारबाट बागलुङमा शुरू भएको छ ।

जिल्ला भित्रका सहकारीहरुका लेखापाल तथा व्यवस्थापकहरुको सहभागितामा तालिम संचालन भएको हो । तालिममा बोल्दै जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमाकुमारी जि.सी (अञ्जु) ले सहकारीलाई जबसम्म सहि व्यवस्थापन गर्न सकिदैन तबसम्म देशको उन्नति हुन नसक्ने बताउनुभयो ।

उहाँले कहिकतै केही सहकारीहरुमा भएको समस्यालाई लिएर सबैलाई खराब भन्ने गरिएको भए पनि सञ्चालक समिति तथा कर्मचारीहरुले राम्रो तबरले आफ्नो जिम्मेवारी बोध गरेका संस्थाहरुमा समस्या नरहेको उहाँको भनाई थियो ।

सहकारी रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशका रजिष्ट्रार भेषराज रिजालले सहकारी आफैमा खराब नहुने भन्दै कुनैमा खराबी देखिएको भए पनि त्यसलाई सही ठाउँमा ल्याएर बचतकर्ताको बचत फिर्ताको व्यवस्था मिलाइने बताउनुभयो ।

उद्घाटन कार्यक्रममा सहकारीका परामर्शदाता निर्मल गौतम, सहकारी रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशका शाखा अधिकृत चोलाकान्त वाग्ले लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । तालिम बैशाख २४ गतेसम्म सञ्चालन हुनेछ ।

उक्त तालिममा जिल्ला भित्रका विभिन्न सहकारीहरुका ३० जना लेखापाल तथा व्यवस्थापकहरुको सहभागिता रहेको जिल्ला सहकारी संघ लिमिटेड बागलुङका प्रबन्धक सिर्जना शर्माले जानकारी दिनुभयो ।

सहकारी रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशका रजिष्ट्रार भेषराज रिजालको अध्यक्षतामा भएको उद्घाटन सत्र शाखा अधिकृत इश्वरी ढकालको सञ्चालनमा सम्पन्न भएको थियो ।