
मुस्ताङमा अवैध घरेलु मदिरा नष्ट गरिएको छ । म्याग्दी हुँदै अवैध रुपमा मुस्ताङतर्फ ल्याउँदै गरिएको घरेलु मदिरा म्याग्दी र मुस्ताङको सीमानाका घाँसामा प्रहरीले नष्ट गरेको हो ।
चालु आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि वैशाख १६ गतेसम्म ७ पटक गरी म्याग्दी हुँदै मुस्ताङतर्फ ल्याउँदै गरिएको ३ सय ५० लिटर अवैध घरेलु मदिरा प्रहरीले बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिनुभयो ।
म्याग्दी र मुस्ताङको सीमाक्षेत्र घाँसामा म्याग्दी हुँदै विभिन्न सवारी साधनमा लुकाईछिपाई अवैध घरेलु मदिरा ल्याउने गरिएको छ । अवैध घरेलु मदिरा र मासुजन्य पदार्थको निगरानी गरी आवश्यक प्रक्रिया पुगे नपुगेको प्रमाणित भएपछि मात्र यस प्रकारका सामग्री ल्याउन अनुमति दिने गरिएको छ ।
कोरला नाकाबाट ल्याइएको ३२ कार्टुन मदिरा सीमा क्षेत्रमा खटिएका संयुक्त सरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् । मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनराज पन्तले सीमा नाकाबाट व्यापारिक प्रयोजनका लागि लटका लट अवैध मदिरा ल्याउने गरेको सूचना पाएपछि चीनबाट ल्याइएका मदिरा त्यहाँ खटिएका सुरक्षाकर्मीले बरामद गरेको बताउनुभयो ।
चीनबाट कोरला नाका हुँदै ल्याइएको मदिरा गुणस्तर मापन गर्न प्रयोगशालामा पठाइएको र खान योग्य भएमा अन्तशुल्क अनुमतिसहित अन्तशुल्क स्टीकरण लगाएर बेच्न पाइने प्रजिअ पन्तले जानकारी दिनुभयो ।
ल्याब परीक्षण ठीक भएमा लिलाम गरी अन्तशुल्क लिएर सम्बन्धित व्यत्तिलाई बेच्न दिइने र ल्याब फेल भएमा नष्ट गरिनेछ ।