images
images

डोयको पहाडलाई ब्लु हिलको रुपमा परिणत गर्दै बागलुङ नगरपालिका

बागलुङ नगरपालिका ९ स्थित डोयको पहाडलाई ब्लु हिलको रुपमा परिणत गर्दै पर्यटकीय गन्तव्य बनाउन बागलुङ नगरपालिकाले योजना सञ्चालन गरेको छ । नगरपालिकाले डोयलाई नगरपालिकास्तरीय गौरवको योजनामा समावेश गरी पर्यटकीय गन्तव्य बनाउन पर्यटकीय पूर्वाधार निर्माण सुरु गरेको हो ।

बागलुङ नगरपालिका–९ तित्याङको मनोरम प्राकृतिक सौन्दर्यता भएको डोयको डाँडालाई नगरपालिकाले ‘ब्लु हिल’ नामाकरण गरेर चालु आर्थिक वर्षबाट पूर्वाधार निर्माण थालेको छ । ब्लु हिल पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) निर्माण गरेको छ ।

उक्त ब्लु हिलका लागि चालु आवमा नगरपालिकाले रु ७० लाख बजेट विनियोजन गरेको छ । ब्लु हिलमा वनभोजस्थल, ध्यान केन्द्र, दृश्य अवलोकनस्थल, शौचालय, जीम हल, मन्दिर, पार्किङ लगायतका पूर्वाधार निर्माण गर्न रु २४ करोड ५६ लाख २२ हजार लागत अनुमान गरिएको छ ।

ब्लु हिलमा आन्तरिक पर्यटक पु(याउने बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो । नगरपालिकाले चालु आवमा ब्लु हिल पर्यटकीय गन्तव्यको लागि रु ७० लाख बजेटअन्तर्गत अहिले जग्गा चक्लाबन्दी गर्ने र जग्गा संरक्षण गर्ने लगायतको काम धमाधम थालेको श्रेष्ठले जानकारी दिनुभयो ।

समुन्द्री सतहदेखि करिब दुई हजार दुई सय मिटरको उचाइमा डोय डाँडा ‘ब्लु हिल’ छ । डाँडामा पर्यटकीय सडकसहितका पूर्वाधार निर्माण गर्ने नगरपालिकाको लक्ष्य छ ।

हाल सम्म जग्गा व्यवस्थापनमा रु २० लाख खर्च भइसकेको छ । पर्खाल लगाउने र शिवमन्दिर निर्माणको काम भइसकेको बागलुङ नगरपालिका–९ तित्याङका वडाध्यक्ष राजु थापाले जानकारी दिनुभयो ।

डिपीआरअनुसार योजनाले पूर्णता पाउन आठ वर्ष लाग्नेछ । ब्लु हिलबाट धौलागिरि, माछापुच्छ्रे, निलगिरी अन्नपूर्णसहितका दर्जन हिमाल देख्न सकिन्छ । यहाँ आउने पर्यटकलाई लक्षित गरी घरवास सञ्चालनमा ल्याउने स्थानीयको योजना छ