
बागलुङको बरेङ गाउँपालिका रिङरोड सडक डडुवा थाप्ले सडक खण्डको शनिबार उदघाट्न गरिएको छ ।
दीर्घकालीन विकास र समृद्धिको लक्ष्य प्राप्तिका लागि गरिएका महत्वपूर्ण नीति तथा योजनाहरु मध्ये प्रमुख योजना मानिएको बरेङ गाउँपालिका भित्रको रिङरोडको गुरु योजना अन्तरगत शुक्रबार गाउँपालिकाको अनुगमन समुहले अनुगमन गरि निर्माण कम्पनी तथा निर्माण समितिलाई बिभिन्न सुझाव दिंदै वडा नं। १ धुल्लुबाँस्कोट, वडा नं। २ हुग्दिशिर र वडा नं। ३ बाटाकाचौर खण्ड रिङरोड सडक खण्ड वडा नं। २ हुग्दिशिर डडुवा थाप्ले सडक खण्डको गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माद्वारा रिबन काटी उदघाट्न गरिएको हो ।
कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले दीर्घकालीन विकास र समृद्धिको लक्ष्यका साथ अगाडी बढेको पालिकाको महत्वपूर्ण रिङरोड सडकको अनेक समस्या तथा चुनौतीका बावजुद योजना सम्पन्न गर्न सहयोग गर्ने आम वडा वासी समुदायलाई गाउँपालिकाको तर्फ देखि धन्यवाद ज्ञापन गरेका छन् ।
उनले वडा नं। १ धुल्लुबाँस्कोट डडुवा, झुले लुगरुङ, लिउँवा कालाखोला, टिमुरेघाट हुदैं गडेंल उर्लेनी सडक खण्ड, वडा नं। २ हुग्दिशिरको पेरिबाङ, डाँडाकटेरी बरेङ हुँदै उर्लेनी सडक खण्ड, वडा नं। २ हुग्दिशिर सिग्दी, तङ्ग्राम हुदैं वडा नं। ३ बाटाकाचौर लिग्दी हुदैं नयाँ बजार देखि वडा नं। ४ सल्यान र वडा नं। ५ सुखौरा सम्मको रिङरोड बाटो सम्पन्न भएको बताएका छन् ।
उनले रिङरोड सडक खण्डलाई दीर्घकालीन सञ्चालनका लागि पालिकाले आगामी दिनहरुमा पनि थप योजनाहरु व्यवस्थापन गरिने पनि बताएका छन् ।
कार्यक्रममा वडा नं। १ का वडा अध्यक्ष नरसेङ पुन, वडा नं। २ का वडा अध्यक्ष हिरा बहादुर घर्ती, ग्रामिण जनसहभागिता विकास केन्द्रका अध्यक्ष चित्र थापा, वडा नं। २ का वडा सदस्य श्यामलाल शर्मा लगायतले शुभकामना मन्तव्य राख्दै बाटो जोडिनु मात्र ठुलो कुरो नभई यसलाई दिगोपन राख्न समुदाय र समुदायमा रहेका बिभिन्न राजनैतिक दल, समाजसेवी तथा वुद्धिजिवीहरुले सहयोग गर्नु पर्ने बताएका छन् ।
कार्यक्रम वडा नं। २ का समाजसेवी तथा भारतिय भूतपूर्व सैनिक सुवेदार सन्त बहादुर श्रीसको अध्यक्षता, समाज सेवी चिन्तामणी जैसीको स्वागत र खुमराज पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा नौमती बाजा समूह हुग्दिशिर, थाप्ले तथा डाँडा कटेरीका युवा तथा आमा समूहले रिङरोड सडकखण्ड विस्तार भएकोमा खुशी व्यक्त गर्दै समुदायको संस्कृती अनुसार मनोरञ्जन गरि खुशियाली मनाएका थिए ।