images
images

बेरोजगार र अस्थायी कर्मचारीलाई शिक्षक सेवा, लोक सेवा र बैंकका निःशुल्क कक्षा चलाउँदै बिहादी

पर्वत । जिल्लाको बिहादी गाउँपालिकाले गाउँपालिकाका बेरोजगार रहेका तथा अस्थायी रूपमा सरकारी सेवामा काम गरिरहेका कर्मचारीहरूलाई निःशुल्क कक्षा सञ्चालन गर्ने भएको छ। गाउँपालिकाका अध्यक्ष परविन गुरुङका अनुसार सरकारी सेवामा बिहादी गाउँपालिकाका व्यक्तिहरू कम रहेको तथा आर्थिक समस्याका कारण अध्ययन गर्न समस्यामा परेकाहरूलाई केन्द्रित गरेर कक्षा सञ्चालनको तयारी गरिएको हो।

 

लोक सेवा, शिक्षा सेवा, बैंक सेवा, संस्थान लगायतमा सेवा गर्न इच्छुक भएर पनि यसको तयारीको बारेमा अलमलमा परेकाहरूलाई पनि यो कार्यक्रममा समेटिने छ।बेरोजगार रहेकाहरू बाहेक अस्थायी सेवामा रहेकाहरू पनि अस्थायी मानसिकतामा हुने भएकोले उनीहरूलाई समेत तयारी कक्षामा समावेश गर्न लागिएको हो।

 

हालसम्म एक सय १७ जनाको निवेदन आएकोमा तालिम सुरु गर्ने भनिएको भए पनि धेरैलाई अवसर दिनका लागि यो सङ्ख्या दुई सय पु-याउन लागिएको छ। सात वटा स्थानीय तहहरू रहेका पर्वतका अन्य स्थानीय तहहरूले पनि बेला बेलामा यस्तै खालका तयारी कक्षाहरू निःशुल्क रूपमा सञ्चालन गर्दै आइरहेका छन् ।

 

पर्वतका धेरै व्यक्तिहरू शिक्षक सेवा र निजामती सेवामा कार्यरत रहँदा नयाँ पुस्ताहरूमा पनि शिक्षक सेवा र लोक सेवाको आकर्षण कायमै रहेको छ। युवाहरूको मागकै आधारमा स्थानीय तहहरूले कक्षा सञ्चालन गर्ने गरेका हुन्।