images
images

डढेलोले पाइप जलेपछि कुश्मा बजारमा पानी आपूर्ति बन्द

पर्वत सदरमुकाम कुश्मा बजारसँगै जोडिएको विशाल वन क्षेत्रमा भएको आगलागीले खानेपानी योजनामा क्षति भएपछि कुश्मा बजारमा पानीको आपूर्ति वन्द भएको छ । कुश्मा नगरपालिका–३ दुर्लुङ र वडा नं. ८ चुवाको सिमानाबाट गत आइतबारदेखिको आगलागीले विशाल रूप लिँदा वन क्षेत्रबाट नै कुश्मामा भित्रिएको पानीको योजनामा क्षति पुगेको हो ।

 

कुश्मा बजारबाट देखिने फराकिलो वन क्षेत्र लगभग सखाप बनेको अवस्थामा पानीको लाइनमा कति क्षति भयो भन्ने यकिन भने नभएको बताइएको छ । वनमा डढेलोले विशाल रूप लिँदासाथ कुश्मामा पानीको आपूर्ति वन्द भएको थियो । शिवालय खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था कुस्माका अध्यक्ष रविकुमार श्रेष्ठका अनुसार कुश्मा नगरपालिका–२ खुर्कोटस्थित क्यादी खोलाबाट ल्याइएको खानेपानी योजना कुश्मामा आउने पानीको प्रमुख स्रोत हो ।

 

बर्खा याममा प्रति सेकेण्ड ३५ लिटरसम्म पानीको आपूर्ति हुने गरेको यो योजनाबाट आउने पानी पूर्णरूपमा वन्द भएको छ । वन क्षेत्रको कतिपय भागमा अझै पनि धुवाँ उडिरहेको देखिएको भए पनि धेरै ठाउँमा भने वन सखाप भएसँगै आगो पनि निभेको उहाँले बताउनुभयो ।

 

आगो नियन्त्रणमा आएसँगै पाइपलाइन विस्तार गरिएका ठाउँमा पुगेर क्षतिको खोजी गर्न थालिएको बताइएको छ ।पुरानो संरचनाले अहिलेको माग धान्न नसकेको तथा प्रयोग गरिएका सामग्री समेत पुराना वन्दै जाँदा पानीको ‘लिकेज’ ले गर्दा पनि पानीको अभाव हुने गरेकोमा आगलागीले झनै समस्या बनाएको स्थानियले बताएका छन् ।