images
images

डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप

डढेलोले गण्डकी प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा बढी नोक्सानी म्याग्दी जिल्लामा भएको छ । पैतालिस दिनको अवधिमा जिल्लाको करिब सात सय हेक्टर वन क्षेत्र सखाप भएको डिभिजन वन कार्यालयले जनाएको छ । फागुन अन्तिम सातादेखि वैशाख दोस्रो सातासम्म म्याग्दीका छ ओटै स्थानीय तहका एक सय ११ वनमा डढेलो लागेको छ ।

 

डढेलोले जिल्लाको छ सय ९३ हेक्टर वन क्षेत्र सखाप भएको छ । गण्डकी प्रदेश वन निर्देशनालयले पनि प्रदेशका ११ जिल्ला मध्ये डढेलोका कारण म्याग्दीको वन क्षेत्र बढी नष्ट भएको जनाएको छ ।डढेलोबाट आफूहरू त्रसित भएको वन क्षेत्र आसपासका स्थानीयले बताएका छन् ।

 

डढेलोका कारण वन क्षेत्र कालो देखिएको छ भने पशुपक्षी मरेका मालिका गाउँपालिका–६ का टेकबहादुर पुनले बताउनुभयो । जिल्लाको बेनी नगरपालिका लगायत मालिका, मङ्गला, रघुगङ्गा, धवलागिरि र अन्नपूर्ण गाउँपालिकाका विभिन्न वनमा दिनहुँ आगलागी भइरहेको डिभिजन वन कार्यालयका प्रमुख विष्णु अधिकारीले बताउनुभयो ।

 

कतिपय वनमा आगो निभाइएको छभने केही वनमा अझै धुवाँको मुस्लो देखिएको उनी बताउँछन् । दैनिक रुपमा आगोलागीका घटना हुन थालेपछि स्थानीय र सुरक्षाकर्मीलाई अग्नि नियन्त्रण उपकरण वितरण गरेर आगो निभाउन अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो ।