स्वास्थ्य कार्यालय बागलुङले जिल्लालाई पूर्ण खोप सुनिश्चितताको लागि दीगोपना घोषणा गर्ने तयारीलाई तीब्रता दिएको छ । त्यसको लागि सम्बन्धित सरोकारवालाहरुसँग बैठक, सचेतना गोष्ठी, छलफल र वडा तहमै पुगि घरधुरी सर्वेक्षण थालेको कार्यालयले जनाएको हो ।
वडाले घरधुरी सर्वेक्षण गरेपश्चात पालिकाले प्रमाणित गरि वडा, पालिकाहुँदै सिङ्गो बागलुङ जिल्लालाई पूर्ण खोप सुनिश्चितताको लागि दीगोपना घोषणा गरिने भएको छ । यहि बैशाख २५ गते भित्रै पूर्ण खोप सुनिश्चितताको लागि दीगोपना घोषणा गर्ने तयारी गरिएको स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिनुभयो ।
हरेक बर्ष पूर्ण खोप सुनिश्चितता दीगोपना घोषणा गर्दै आएकोमा यस बर्ष पनि घोषणा तयारीलाई तीब्रता दिइएको छ । यस बर्ष बागलुङमा १५ महिना मुनिका १३ हजार १२२ जना बालबालिकालाई पूर्ण खोप लगाएको सुनिश्चितता गरिने लक्ष्य राखिएको छ ।
बालबालिकालाई विभिन्न संक्रामक रोगबाट बचाउनको लागि पूर्ण खोप सुनिश्चितताको लागि दीगोपना घोषणा गर्न लागिएको हो । पूर्ण खोप सुनिश्चितता दीगोपना घोषणाको लागि १५ महिना मुनिका बालबालिकालाई १३ रोग विरुद्धको खोप लगाएको सुनिश्चतता गरिनु पर्ने बताइएको छ ।