पानी नपरेका कारण मकै छर्न नपाएर म्याग्दीका किसान चिन्तित

वैशाख पहिलो साता बितिसक्दा पनि पानी नपरेका कारण मकै छर्न नपाएर म्याग्दीका किसान चिन्तित छन् । लामो खडेरीले खेतबारीमा लगाएका तरकारी र खेतमा लगाएको मकै सुक्न थालेको छ भने जङ्गलमा लागेको डढेलोले वन जङ्गल उजाडिएको छ । पानीका मुहान सुकेका छन् । गाउँमा खानेपानीको समस्या उत्पन्न हुनुका साथै वायु प्रदूषणका कारण बिरामी बढेको स्थानीयले बताएका छन् ।

हिउँद याममा राम्रोसँग हिमपात र वर्षा नभएपछि गहुँ, जौलगायत हिउँदेबाली पनि राम्रोसँग उत्पादन नभएको म्याग्दी जिल्लाको मालिका गाउँपालिका–२ का किसान टेकबहादुर विकले बताउनुभयो । लामो समयदेखि पानी नपरेका कारण माटो तातिरहेको र किसान बारीमा मकै छर्न नपाएर छट्पटाइरहेको राष्ट्रिय जनमोर्चा म्याग्दीका पूर्व अध्यक्ष समेत रहनु भएका मालिका गाउँपालिका–६ का कृषक छवि विश्वकर्माले बताउनुभयो ।

पाँच महिनादेखि राम्रोसँग पानी नपरेका कारण खेतमा छरेका मकै खेतमा नै सुकेको तथा बारीमा मकै छर्न नपाएर किसान चिन्तित बनेको उहाँको भनाई थियो । तरकारी र फलफूलका बिरुवा समेत मर्न थालेको उहाँले बताउनुभयो । लामो समयको खडेरीले किसानलाई बाली लगाउन र लगाएका बालीको संरक्षणमा समस्या भएको कृषि प्राविधिक जगत बानियाँले बताउनुभयो ।

कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार विशेषगरी हिउँदे बालीनालीमा खडेरीले असर पु¥याएको छ । सिँचाइ सुविधा भएका र नभएका दुवै स्थानमा उत्पादनमा निकै कमी आएको केन्द्रका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सञ्जीव बास्तोलाले बताउनुभयो ।