images
images

मुस्ताङका ५ वटै स्थानीय तहलाई लक्षित गरी पशुमा पूर्ण खोप अभियान

हिमाली जिल्ला मुस्ताङका ५ वटै स्थानीय तहलाई लक्षित गरी पशुमा पूर्ण खोप अभियान सञ्चालन गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जिल्लाका ७२ हजार ७० पशुचौपायालाई पूर्ण खोप सुनिश्चितता गर्न अभियान चलाएको हो ।

पशुपालन व्यवसायको मुस्ताङ सम्भावना छ । यहाँ मुख्य गरी भेडा, च्यांग्रा र याकचौरी व्यावसायिक रुपमा पालन गरिएको छ । पछिल्लो समय मुस्ताङमा व्यावसायिक रुपमा उन्नत गाईपालनसमेत निकै फस्टाउँदै गएको छ ।

पशुपालन व्यवसायको चुनौतीको रुपमा रहेका प्रमुख रोग नियन्त्रण गर्दै पशु स्वास्थ्यको ग्यारेन्टी गर्न पूर्ण खोप अभियान सञ्चालन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका पशु चिकित्सक डा. लालमणि अर्यालले बताउनु भयो ।

पशुमा लाग्ने जुनेटिक रोगहरुको निदान गर्न अभियानले महत्वपूर्ण योगदान गर्ने पशु चिकित्सक डा. अर्यालको भनाई छ ।

पशुमा पूर्ण खोप अभियान अन्तर्गत मुस्ताङको थासाङ गाउँपालिकामा ६ हजार १ सय २६, घरपझोङ गाउँपालिकामा ५ हजार ६ सय ४५, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा २० हजार २ सय ९३, लोघेकर दामोदरकुण्ड गाउँपालिकामा १६ हजार ९ सय ४९ र लोमान्थाङ गाउँपालिकमा १३ हजार ५७ पशुचौपायामा पूर्ण खोप लगाउने गरी तथ्यांक संकलन गरिएको छ ।