images
images

म्याग्दीको बेनीमा पलास्टिकको झोला विस्थापित गर्न उद्यमीहरुलाई सपिङ ब्याग (झोला) बनाउने तालिम

म्याग्दीको बेनीमा पलास्टिकको झोला विस्थापित गर्न उद्यमीहरुलाई सपिङ ब्याग (झोला) बनाउने तालिम प्रदान गरिएको छ । गरिवी निवारणका लागि लद्युउद्यम विकास कार्यक्रम अन्र्तगत फागुन ९ गतेदेखि क्याम्पस चोक स्थित बेनी नगरपालिका–८ को वडा कार्यालयमा सञ्चालन भएको तालिम समापन गरिएको छ ।

बेनी नगरपालिकाको १० वटै वडाका ३० जना महिला उद्यमीहरु सहभागी तालिममा सिलाई मेसिनबाट कपडाको सपिङ ब्याड (झोला) बुन्ने व्यवहारिक तथा सैद्धान्तिक ज्ञान, सिप प्रदान गरिएको नगरपालिकाका लघुउद्यम विकास कार्यक्रमका प्रमुख कुलचन्द्र रेग्मीले जानकारी दिनुभयो ।

तालिमको समापन गर्नुहुदै बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले बढ्दो वातावरण प्रदुषण नियन्त्रण, आयात प्रतिस्थापन, सरसफाई, उद्यमीलाई रोजगारी र आम्दानीको अवसर सिर्जना गराउनका लागि पलास्टिकलाई प्रतिबन्ध लगाउने तयारी गरिएको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले समुदाय र व्यवसायीको साथ भएमा बेनी नगरपालिका क्षेत्रमा पलास्टिक झोलामा प्रतिबन्ध लगाउन सम्भव रहेको बताउनुभयो ।

नकुहिने प्लास्टिक बाल्दा उत्पादन हुने नाइट्रोजन अक्साइड, सल्फर अक्साइड, डायोक्सिन, बाफिलो प्रांगारिक रसायन, कार्बनडाइअक्साइड आदिजस्ता हानिकारक ग्यास मानव स्वास्थ्यका लागि हानिकारक हुन्छ । बेनी नगरपालिका–८ का वडा अध्यक्ष उत्तम कुमार कर्माचार्यले कपडाको झोला बनाउने उद्यमीहरुका लागि थप सिप र व्यवसाय सञ्चालनका लागि सहजिकरण गरिने बताउनुभयो ।

सिलाई व्यवसायी रहेका प्रशिक्षक डम्मरबहादुर कार्की (हरि)ले पानी नछिर्ने, छिटो धुन र सुकाउन सकिने, आवश्यकता अनुसारको आकारमा न्युनतम रु. ५५ को लागतमा एउटा कपडाको झोला बनाउन सकिने बताउनुभयो । कार्की र सुनिता पुनले प्रतिउद्यमीलाई १५० घण्टाका दरले तालिम दिनुभएको थियो ।

तालिममा सहभागी कमला कार्की र सुपिना किसानले बजारको सुनिश्चितता भए घरमै अथवा सामुहिक रुपमा झोला उत्पादन र्न तप्पर रहेको बताउनुभयो । क्षमता विकास तालिम, झोला बनाउने कच्चा सामग्री र सिलाई मेसिन खरिदका लागि सहयोग गर्न नगरपालिकालाई अनुरोध गर्नुभयो ।