images
images

६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा कृषकहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न

६७ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सोमबार कृषकहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बागलुङ नगरपालिका, जिल्ला सहकारी संघ लिमिटेड बागलुङ र जिल्ला कृषि सहकारी संघ बागलुङको आयोजना तथा कृषि ज्ञान केन्द्र बागलुङको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका सहभागी कृषकहरुले उत्पादन गरेको खेती राम्रोसंग भण्डारण गर्न बादरका कारण समस्या भएको भन्दै बागलुङ नगरपालिकालाई बादर नियन्त्रणका लागि ध्यानाकर्षण गराएका छन् ।

कृषि क्षेत्रको विकासका लागि सरोकारवालाहरुको भूमिका सम्बन्धी अन्तरक्रियाका क्रममा सहभागीहरुले कृषि लगायत फलफूल उत्पादक कृषकहरुलाइ यतिबेला बादरको समस्याले सताएको बताएका थिए । उनीहरुले कार्यक्रम स्थलमै निवेदन लेखेर कार्यक्रमका बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्कालाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।

कृषकहरुको ध्यानाकर्षण पत्र बुझ्दै उपप्रमुख खड्काले समस्या समाधानका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो, बाँदर नियन्त्रणका लागि के गर्न सकिन्छ भनेर छलफल भइरहेको छ, छिटै कुनै उपाय निकाल्छौ, उहाँले भन्नुभयो ।

कृषि क्षेत्रको विकासका लागि व्यवस्थित योजना बन्न नसकेका कारण कृषिको प्रतिफल कम हुदै गएको छ, व्यवसायिक रुपमा सञ्चालन गर्ने भन्दा पनि देखा सिकी गर्ने, अनुदानमा केन्द्रीत हुने कारणले पनि कृषि क्षेत्रको विकासमा समस्या भएको उहाँले बताउनुभयो ।

उत्पादनमा आधारित अनुदानलाई प्राथमिकता दिदै उत्पादन, प्रशोधन र बजारीकरणमा सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो । कार्यक्रममा जिल्ला कृषि सहकारी संघ बागलुङका अध्यक्ष नर बहादुर थापा, जिल्ला समन्वय समितिका सदस्य हरिकला पौडेल, बागलुङ नगरपालिका सहकारी शाखाका प्रमुख प्रेम प्रसाद शर्मा, कृषि शाखाका प्रमुख सुवास सापकोटाले कृषि पेशामा संलग्न कृषकहरुलाई व्यवसायिक रुपमा काम गर्ने वातावरण सरकारको तर्फबाट बनाउनु पर्नेमा जोड दिनु भएको थियो ।

अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले सहकारीमार्फत उत्पादन, प्रशोधन र बजारीकरण, कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवालले कृषि क्षेत्रको विकासका लागि सरोकारवालाहरुको भूमिका र ज्ञानकेन्द्रका कार्यक्रमहरुको बारेमा र पशु सेवा केन्द्रका पशु विकास अधिकृत डण्डपाणी शर्माले कार्यालयमार्फत सञ्चालन हुने सेवा सुविधाका बारेमा सहजीकरण गर्नु भएको थियो ।

जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु) को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जिल्ला कृषि सहकारी संघका सचिव गंगा बहादुर थापाले गर्नु भएको थियो ।