images
images

ठेकेदारले भुक्तानी पाएसँगै कामलाई तीव्रता

गत वर्षको दायित्व भुक्तानी नपाउँदा काम छोडेर हिँडेका ठेकेदार काममा फर्किएका छन् । दायित्व भुक्तानी नपाएपछि प्रभाबित बनेका साविक धौलागिरि क्षेत्रका चार ठुला सडक निर्माणले पुनः तीब्रता पाउने भएका हुन् । सडक डिभिजन कार्यालय बागलुङ मातहतमा निर्माण भइरहेका चार ठुला सडक कालोपत्रको जिम्मा पाएका ठेकेदारले भुक्तानी पाएसँगै कामलाई तीव्रता दिएका हुन् ।

एक अर्ब १९ करोड रकममा छुट्टाछुट्टै मितिमा सम्झौता भएका ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’ अन्तर्गतका चार सडक निर्माणले गत वर्षको भुक्तानी पाएपछि गति लिन थालेको हो । ठेक्कामा गएर कामले गति लिएका सडकमा बजेट अभावले करिब आठ महिना ढिलाइ भएको सडक डिभिजन कार्यालय बागलुङका प्रमुख अनुक्षा घिमिरेले बताउनुभयो ।

बागलुङ क्षेत्र नम्बर १ अन्तर्गत पर्ने बागलुङ बजार –सिगाना–चापाखर्क–शान्तिपुर जोड्ने सडक र म्याग्दीको रत्नेचौर–ज्यामरुककोट–भकिम्ली हुँदै बराङ्जा जाने सडक अन्तरगत गत वर्षको रकम भुक्तानी पाएसँगै निर्माण व्यवसायी काममा फर्केर सडकको पहिरो हटाउने, बिग्रे–भत्केको मर्मत गर्ने काममा जुटेको जनाइएको छ ।

बागलुङ क्षेत्र नम्बर २ अन्तर्गत पर्ने हरिचौर बजार, मल्म, पाण्डवखानी–रमुवा–रणसिंह किटेनी हुँदै निसीखोलाबाट प्युठान जोड्ने सडक र मुस्ताङको रणनीतिक सडकअन्तर्गत पर्ने लेतेस्थित थासाङ गाउँपालिका–२, ३, ४ र ५ मा पर्ने छयो, कुन्जे, टिटी, धम्पु हुँदै कोखेटाटी पुग्ने सडकमा समेत कामले तीव्रता पाउने भएको घिमिरेले बताउनुभयो ।