images
images

थकाली सेवा समिति नेपाल र थकाली अनुसन्धान केन्द्रको आयोजनामा बेनीमा ‘खिमीच्हुव’ र ‘क्होई’ प्रशिक्षण सम्पन्न

थकाली सेवा समिति नेपाल र थकाली अनुसन्धान केन्द्रको आयोजनामा गत मङ्सिर १६ गतेदेखि बेनीमा सुरु भएको ‘खिमीच्हुव’ र ‘क्होई’ प्रशिक्षण सम्पन्न भएको छ । संस्कार र संस्कृति लोप हुन नदिन र बचाउनका लागि प्रशिक्षण आयोजना गरिएको उपाध्यक्ष योगेन्द्रमान भट्टचनले बताउनुभयो ।

थकालीको विवाहका क्रममा माइतीको सम्मानमा खिमीच्हुव र फागु पूर्णिमामा क्होई अनिवार्य गाउनुपर्छ, उहाँले भन्नुभयो, “गीत गाउन जानेकाहरु मरेर जाने र नयाँ पुस्तामा ज्ञान, सीप नहुँदा संस्कार नै लोप हुन थालेको छ । थकालीको बसोबास भएको ठाउँमा तालिममार्फत संस्कारको पुस्तान्तरण र संरक्षण गर्ने प्रयासमा रहेको भट्टचनले बताउनुभयो ।

नेपालमा पछिल्लो जनगणनाअनुसार कूल १३ हजार जनाको हाराहारीमा जनसङ्ख्या रहेको थकालीलाई सरकारले अल्पसङ्ख्यक जातिमा सूचीकृत गरेको छ । थकाली सेवा समिति नेपालका पूर्वअध्यक्ष कृष्णकुमारी शेरचनले समितिले संस्कार र संस्कृति संरक्षणका लागि रु ३० लाखको अक्षयकोष स्थापना गरेको जानकारी दिनुभयो ।

सोही कोषको ब्याजबाट यसअघि सल्यान, बुटवल र काठमाडौँमा भाषा तथा संस्कारसम्बन्धी तालिम आयोजना गरिएको थियो । थकाली नेपालका अल्पसङ्ख्यक समुदाय हुन् । थकालीको उद्गम थलो मुस्ताङको थासाङ गाउँपालिका हो ।

थकाली समुदायको जन्मदेखि मृत्युसम्मका मौलिक संस्कार, चालचलन र रहनसहन रहेको छ । थकालीको भाषा पनि छ । पुराना पुस्ताका मानिसको मृत्यु हुँदै गएको र नयाँ पुस्तामा सीप हस्तान्तरण नहुँदा थकाली समुदायका संस्कार र संस्कृति लोप हुने जोखिममा छ ।

लोप हुन लागेको थकाली समुदायको संस्कारमध्ये विवाह र तोरन्ल (फागु पूर्णिमा) पर्वमा गाउने ‘खिमीच्हुव’ र ‘क्होई’ गीत हो । खिमीच्हुव थकाली समुदायको विवाह र क्होई तोरन्ल (फागु पूर्णीमा) पर्वमा अनिवार्य रुपमा गाउनुपर्ने थकाली अनुसन्धान केन्द्रका उपाध्यक्ष भट्टचनले बताउनुभयो ।