
पिल्लेको रघुगंगा माविले रघुगंगा गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधी जितेको छ । झिँमा मंगलबार सम्पन्न प्रतियोगितामा बाह् वटा स्वर्ण र ४ वटा कास्य पदक सहित रघुगंगा माविले लगातार चौथो पटक उपाधी जितेको हो । रघुगंगा गाउँपालिकाको वडा नम्बर–३ मा रहेको रघुगंगा मा.वि.ले गत वर्ष लगातार तेस्रो पटक प्रतियोगिता जितेर रनिङ्ग शिल्डलाई आफ्नो बनाएको थियो ।
यसैगरी ७ वटा स्वर्ण, ४/४ वटा रजत र कास्य पदक जितेको रघुगंगा गाउँपालिका–२ मा रहेको मुक्तिधाम मावि उपबिजेता बनेको छ । तीन वटा स्वर्ण, पाँच/पाँच वटा रजत र कास्य पदक जितेको वडा नम्बर – ६ पाखापानीको अमर मावि तृतीय भएको छ ।
तीन दिन सम्म सञ्चालन भएको प्रतियोगितामा एघार वटा विद्यालय सहभागि भएका थिए । एथलेटिक्स र भलिबल बिधाका खेलमा विद्यार्थीहरुबीच प्रतिस्पर्धा भएको थियो । विजेतालाई रनिङ्ग शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद रु. पचास हजार प्रदान गरिएको छ ।
दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमशः नगद रु. तीस हजार र रु. २० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ । रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष प्रेमकुमारी पुन लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
छ वटा स्थानीय तह रहेको म्याग्दीमा बेनी नगरपालिका र रघुगंगा गाउँपालिकाले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न गरिसकेका छन् ।