
जिल्लाको दक्षिणी क्षेत्रमा रहेको तथा उपचारको लागि सदरमुकामबाट टाढा रहेको महाशिला गाउँपालिकामा अब भने १५ शैयाको अस्पताल निर्माण हुने भएको छ ।
लामो रस्साकस्सी र अथक मिहिनेतपछि पुरानो व्यापारिक क्षेत्र समेत रहेको लुँखुदेउरालीमा अस्पताल निर्माणको लागि स्वास्थ्य मन्त्रालयबाट प्रक्रिया अगाडि बढाउन स्वीकृति मिलेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पराजुलीका अनुसार स्वास्थ्य मन्त्रालयबाट डिपिआर रिभ्यू भई काम अगाडि बढाउन अनुमति आएको छ ।
डिपाआर रिभ्यूको काम सकिएपछि अरू काम गर्न स्वास्थ्य मन्त्रालयबाट स्वीकृति र अर्थ मन्त्रालयबाट स्रोत समर्थन प्राप्त भएको छ। जिल्लाको सबैभन्दा ठूलो अस्पताल पर्वत अस्पताल रहेको र त्यो दक्षिणी क्षेत्रबाट टाढा रहेकोले अब बन्ने अस्पताल दक्षिणी क्षेत्रको सबैभन्दा ठूलो अस्पताल बन्ने उहाँको भनाइ छ।
बिहादी र पैयुँ गाउँपालिकामा अस्पताल रहेको भए पनि तिनीहरूको शय्या क्षमता थोरै रहेकोले लुँखुदेउरालीमा बन्ने अस्पतालबाट जिल्लाको तीन वटा पालिकाका नागरिकलाई सुविधा पुग्ने छ। लुँखुदेउराली फलेवास नगरपालिकाको कुर्घा र आसपासको क्षेत्रका लागि पनि नजिक हुने भएकाले फलेवासका नागरिकहरू पनि लाभान्वित हुने प्रमुख प्रशासकीय अधिकृत पराजुलीको भनाई छ ।
करिब ३२ रोपनी क्षेत्रफलमा निर्माण हुने अस्पतालमा चार जना विशेषज्ञ चिकित्सकहरू सहित आधुनिक सुविधाका उपकरणहरू राखिने छ । शव गृह, चमेना, यातायात पार्किङ लगायतका भौतिक संरचना निर्माण गर्न धेरै जमिन चाहिने भएकाले स्थानीय ११ जना दाताहरूले जग्गा दान गरेपछि अस्पताल बनाउन सकिने भएको हा े। अस्पताल रहने ठाउँको केही जमिन भने गाउँपालिकाकै स्वामित्वमा रहेको छ । अस्पताल बहुवर्षीय योजना अन्तर्गत निर्माण हुने भएकोले काम थालिएपछि बजेट आउँदै जाने छ ।
स्थानीय तहहरूमा निर्माणाधीन ५, १० र १५ शैयाका आधारभूत अस्पतालको निर्माणको क्रममा महाशिलामा यो अस्पताल निर्माण हुन लागेको हो ।