images
images

ढोरपाटनको विकट छेन्तुङ गाउँमा सौर्य उर्जा

बागलुङ,

ढोरपाटनको विकट छेन्तुङ गाउँमा सोलारको उज्यालो पुगेको छ ।

ढोरपाटन नगरपालिका–६ मा पर्ने छेन्तुङ गाउँमा केही समय पहिले मोटरबाटो पुगेको भएपनि यहाँका स्थानीयले बिजुली बत्तिको उज्यालो भने अहिलेसम्म उपयोग गर्न पाएका थिएनन् ।
४ सय भन्दा बढी घर परिवार बसोबास गर्दै आएको छेन्तुङ गाउँमै पुगेर उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय गण्डकी प्रदेशले सोलार वितरण गरेपछि स्थानीयमा खुसी छाएको छ ।
गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारी, बागलुङ क्षेत्र नम्बर २ (ख) का सांसद दोर्ण कुमार कुँवर, प्रदेश सभा सदस्य दिलमाया पौवी लगायतको टोली छेन्तुङमै पुगेर सोलार वितरण गरेको हो ।

केही वर्ष पहिले सडकले गाउँ छोएपछि उत्साहित भएका यहाँका स्थानीय दशैँको मुखमा सोलारले गाउँ उज्यालो हुने भएपछि खुसी भएका छन् । ९ महिना छेन्तुङमै बस्ने स्थानीय हिउँदको याममा ३ महिना बेसी झर्छन् । पशुचौपायाका लागि प्रसस्त चरन क्षेत्र भएको छेन्तुङमा वर्खा याममा बसोबास गर्ने र हिउँदमा हिमापात हुँदा बेसी झर्ने गरेको जानकारी दिदै स्थानीय छविलाल सिर्पालीले घर घरमा सोलारको उज्यालो हुने भएपछि खुसी लागेको बताउनुभयो ।

उज्यालोका लागि दाउरा, दियालो र टुकी बाल्ने गरेका यहाँका स्थानीय बल्ब बालेर घर उज्यालो हुने कुरा सुनेरै दंग परेको सिर्पाली बताउनुहुन्छ ।
यस क्षेत्रबाट निर्वाचित सांसद दोर्ण कुमार कुँवरले ढोरपाटन क्षेत्रका सयौँ परिवारले टुकीकै भरमा रात कटाउने गरेको भन्दै विद्युतीकरण नहुँदासम्मका लागि सोलार बत्तिको व्यवस्थान गरेको बताउनुभयो । पहिलो चरणमा छेन्तुङका ३९१ घरमा सोलार जडान गरिएको भन्दै अब अन्य गाउँमा पनि निरन्तर व्यवस्थापन गर्दै जाने बताउनुभयो ।

लामो समयदेखि छेन्तुङगाउँ, निसेलढोर लगायत थुप्रै ठाउँहरुमा सामान्य सौर्य उर्जासमेत नपुगेको र आगामी वर्षसम्म सबै ठाउँमा पु¥याउने गरि प्रदेशमा पहल भइ रहेको सांसद कुँवर बताउनुहुन्छ ।
गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले उज्यालो गण्डकी प्रदेश अभियान अन्तरगत छेन्तुङ गाउँमा सोलार वितरण गरेको बताउनुभयो । आगामी वर्षसम्म उज्यालो गण्डकी प्रदेश घोषणा गर्ने गरि प्रदेशका ११ वटै जिल्लामा विद्युत नपुगेका ठाउँमा सौर्य उर्जाको व्यवस्थान गर्न थालेको बताउनुभयो ।