images
images

काठेखोलाद्वारा मध्यपहाडी लोकमार्ग छेउछाउका होटल तथा पसल अनुगमन

काठखोला गाउँपालिकाले पालिका भित्र सञ्चालित होटल, रेष्टुरेन्ट तथा विभिन्न पसलहरुको अनुगमन गरेको छ ।

गाउँपालिका उपाध्यक्ष, निमित्त प्रमुख प्रशासकीय अधिकृत, राष्ट्रिय उपभोक्ता मञ्च, पत्रकार र कर्मचारी सहितको संयुक्त टोलीले पालिका भित्र सञ्चालित विभिन्न व्यवसायको अनुगमन गरेको हो ।

अनुगमन टोलीले पालिकामा पर्ने मध्य पहाडी लोकमार्ग खण्ड छेउछाऊका होटल, रेष्टुरेन्ट तथा अन्य पसलहरुको अनुगमन गरेको हो । अनुगमनका क्रममा म्याद सकिएका, मिति नराखिएका, मुल्य नतोकिएका, दर्ता नगरि पसल चलाईएको, दर्ता गरेर पनि नविकरण नगरि व्यवसाय सञ्चालन गरिएको पाईएको छ ।

अनुगमनमा क्रममा भेटिएका म्याद सकिएका केही सामान नष्ट गर्दै आगामी दिनमा त्यस्ता सामान बिक्रि तथा वितरण नगर्न व्यववसायीलाई सचेत गराएको छ ।

गाउँपालिका उपाध्यक्ष तिलक थापा मगरले व्यववसायी र नागरिकलाई उपभोक्ता हित सम्बन्धी सचेत गराउन अनुगमन गरिएको बताए । पालिका भित्र सञ्चालित व्यवसायको पहिलो पटक अनुगमन गरिएको हो ।

‘व्यवसायी र उपभोक्तालाई सचेत गराउन हामीले पहिलो पटक अनुगमन गरेका हौँ’ उनले भने–‘व्यवसायीलाई आफ्नो व्यवसाय दर्ता गरि चलाउनु पर्छ भन्ने सचेतना पनि रहेनछ, ठूला पसलले नै म्याद गुर्जेको सामान समेत पसलमा छोडिदिदा रहेछन, अनुगमनले व्यवसवायीमा नै सचेतना अभिवृद्धि गरेको छ ।’

उनले व्यवसाय गर्दा उपभोक्ताको हित विपरित कार्य नगर्न व्यवसायीलाई सचेत तुल्याईएको बताए ।

‘उपभोक्ताको हित भन्दा ठूलो व्यवसाय हुन सक्दैन, जसले उपभोक्ताको हित सोच्दछ उसकै व्यवसाय राम्रो हुन्छ’ उपाध्यक्ष थापाले भने–‘यसले उद्यमी, व्यवसायी र उपभोक्तालाई सचेत बनाएको छ ।’

अनुगमनमा संलग्न राष्ट्रिय उपभोक्ता मञ्ज बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले पालिका भित्र सञ्चालित होटल तथा रेष्टुरेन्टले सरसफाइमा हेलचक्राई गरेको भन्दै सरसफाईमा ध्यान दिन सचेत गराइएको बताए ।
‘मध्य पहाडी लोकमार्ग छेउछाउका होटल तथा रेष्टुरेन्ट र अन्य व्यवसायको अनुगमन सरसफाईमा लापारबाही गरेको पायौँ, त्यसले उपभोक्ताको हितमा काम गर्दैन’ उनले भने–‘त्यस्ता व्यवसायीलाई पहिलो पटक भएकोले सचेत गराईएको छ, फेरी पनि दोहोराएमा कानुन बमोजिम कार्वाही गरिनेछ ।’

काठेखोला गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश पौडेलले मध्य पहाडी लोकमार्ग छेउछाउका होटल तथा व्यवसाय प्रति उपभोक्ताको गुनासो आएकोले पहिलो चरणमा यस क्षेत्रमा अनुगम गरिएको बताए ।

‘हामीलाई यस क्षेत्रमा होटल तथा रेष्टुरेन्टले धेरै पैसा ल्याएको, गुणस्तरीय सेवा प्रवाह नगरिएको, यात्रु उपभोक्ता ठगिएको गुनासो आएको थियो’ शर्माले भने–‘त्यहि गुनासोलाई मध्यनजर गर्दै यस क्षेत्रमा अनुगमन गर्यौँ ।’ यद्धपी चरणबद्ध रुपमा पालिका भित्र सञ्चालित सबै व्यवसायको अनुगमन गरिने उनले बताए ।

पालिकाले पहिलो दिन ८१ वटा होटल, रेष्टुरेन्ट, किराना पसल, होलसेल पसल, हार्डवयर पसलको अनुगमन गरेको छ । अनुगमनका क्रममा भेटिएका दर्ता नभएका, नविकरण नगरिएका, म्याद गुर्जेका, मुल्य नराखिएका, सरसफाईमा ध्यान नदिने व्यवसायीलाई फोन र पत्रचार मार्फत सचेत गराई जवाफदेही बनाईने छ ।

अनुगमनलाई पालिकाले निरन्तरता दिने बताएका छ । आगामी दिनमा पालिका आठ वटै वडा भित्र सञ्चालित व्यवसायको अनुगमन गरिने पालिकाले जनाएको छ ।