
बागलुङ,
नेपाली चलचित्र परदेशी–२ को बागलुङमा शुक्रबार ‘विशेष शो’ प्रदर्शन भएको छ । ‘विशेष शो’ प्रद्धर्शनसहित चलचित्रको प्रचार प्रसारमा गृह जिल्ला बागलुङमा आउनु भएका नायक प्रकाश सपुत, नायिका केकी अधिकारी र वरिष्ठ निर्देशक तथा गायक नारायण रायमाझीलाई बागलुङ वासीले भव्य स्वागत गरेका थिए ।
बागलुङको बिएसआर मुभीजमा विशेष शो प्रद्धर्शन भएको थियो । चलचित्र यही असोज २६ गतेदेखि प्रद्धर्शनमा आउँदैछ । अहिले चलचित्रको प्रचारका लागि सिंगो टिम प्रचारप्रसारमा जुटेको छ । निर्देशक तथा लोक तथा दोहोरी गायक नारायण रायमाझी निर्देशित परदेशी–२ चलचित्रमा उच्च शिक्षाका लागि विदेशिने क्रम बढ्दो कथालाई चलचित्रको मुख्य भागमा राखिएको छ।
युवापुस्तामा बढ्दो विदेश मोहको कथामा आधारित चलचित्रलाई रमेश बिजीले लेखेका हुन् । प्रकाश, केकी र वर्षा सिवाकोटीका साथमा चलचित्रमा प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, सुशील पोखरेल, सबिन बास्तोला, रोशनी कार्की र नबिना सिलवाल “खुईली” लगायतको अभिनय छ । प्रकाशको यो पहिलो डेब्यु चलचित्र हो ।