
हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथमा पर्यटकको चहलपहल बढ्न थालेको छ । भोलिदेखि सुरु हुने पितृपक्ष (सोह्रश्राद्ध) का लागि विभिन्न स्थानबाट दर्शनार्थी आउने धार्मिक पर्यटकको चहलपहल बढेको हो । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थलका रुपमा रहेको यस मन्दिरमा पितृपक्षका समयमा पितृ उद्धारको कामनाका साथ ठूलो संख्यामा दर्शनार्थी आउने गरेको मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
मुक्तिनाथमा दर्शन गरेपछि मनोकांक्षा पूरा हुनाका साथै पितृहरूको उद्धार हुने विश्वासका कारण यहाँको महिमा र गरिमा बढेको छ । मुक्तिनाथ मन्दिर भएका कारण मुक्ति क्षेत्रका रुपमा ख्याति कमाएको यस क्षेत्र हुँदै बग्ने कालीगण्डकीमा पाइने शालग्राम शिलाका कारण पनि यसको धार्मिक महत्व अझै चुलिएको छ । मुक्तिनाथको दर्शन गरेपछि दर्शनार्थीलाई मोक्ष प्राप्त हुने विश्वास रहेको बताउँदै पुजारी सुवेदीले आन्तरिक एवं भारतीय पर्यटकको सङ्ख्या धेरै हुने गरेको बताउनुभयो ।
सोह्रश्राद्धको समयमा आउने दर्शनार्थीले कागबेनीमा स्नान एवं श्राद्ध गरी मुक्तिनाथको दर्शन गर्दछन् । कागबेनीमा आई मुक्तिनाथमा दर्शन गरेमा पितृहरू मुक्त हुने जनविश्वास रहिआएको छ । कालीगण्डकी किनारामा पाइने शालग्रामलाई भगवानको साक्षात स्वरुप मानिन्छ । सोही कारण मुक्तिनाथ मन्दिर आउने दर्शनार्थीले कागवेनी किनारामा उक्त शिला खोजेर घरघरमा पूजाआजा गर्न लैजाने प्रचलन पनि छ । शालग्रामको उत्पत्ति प्रागऐतिहासिक कालमा पाइने किराको जीवाष्मबाट भएको मानिन्छ । जुन मुख्यतः टेथिस सागरमा पाइन्थ्यो ।