
म्याग्दीमा रहेको धवलागिरि हिमाल आरोहणका लागि पर्यटक आउन थालेका छन् । संसारको सातौँ (आठ हजार एक सय ६७ मिटर) अग्लो धवलागिरि हिमाल आरोहणका लागि पर्यटक आउन थालेका हुन् ।
म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने धवलागिरि हिमालको आरोहणका लागि विदेशी र स्वदेशी आरोही, शेर्पा, पथप्रर्दशक, भरिया र सहयोगी आधार शिविर पुग्न थालेको दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो ।
शरद्कालीन याममा आठ के टे«क्सबाट हिमाल चढ्ने अनुमति लिएका तीनजना आरोही र सहयोगीहरु धौलागिरि आधार शिविर पुगेको पर्यटन व्यवसायी शेरचनले बताउनुभयो । इलाइट र सेभेन समिट टे«कबाट पनि शरदयाममा थप आरोहीहरु धवलागिरिमा आउन लागेको आरोहीको व्यवस्थापन गर्दै आएका शेरचनले बताउनुभयो । पर्यटन विभागका अनुसार चालु शरदयाममा धवलागिरि हिमाल आरोहणका लागि हालसम्म एउटा समूहका १० जनाले अनुमति लिएका छन् ।
पाँच/पाँच पुरुष र महिला आरोहीले ११ लाख ९२ हजार ५० राजस्व तिरेका विभागले वेबसाइटमा सार्वजनिक गरेको छ ।विभागका अनुसार चालु यामका लागि नेपालका दश वटा हिमाल आरोहण गर्न ४७ देशका ३५ वटा समूहमा तीन सय ३९ जनाले अनुमति लिएका छन् । उनीहरुबाट तीन करोड ६४ लाख ९९ हजार पाँच सय ७७ आरोहण शुल्क सङ्कलन भएको छ ।
वसन्तयाममा म्याग्दीमा रहेको अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेका पाँचवटा समूहका ५४ जनाले एक करोड चार लाख २६ हजार चार सय १० शुल्क तिरेका पर्यटन विभागको अभिलेखमा उल्लेख गरिएको छ । शरदयामका लागि अन्नपूर्ण आरोहणका लागि कसैले अनुमति लिएका छैनन् । वसन्तयाममा नेपालका २८ वटा हिमाल आरोहण गरेका एक हजार एक सय ७६ जनाले रु ७६ करोड ५७ लाख ५८ हजार तीन शुल्क तिरेका विभागले जनाएको छ ।