images
images

अविरल वर्षासँगै आएको पहिरोले पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४, ओखरबोटस्थित दुईवटा घरमा क्षति पुगेको छ

अविरल वर्षासँगै आएको पहिरोले पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४, ओखरबोटस्थित दुईवटा घरमा क्षति पुगेको छ । आज बुधवार बिहान वस्तीभन्दा माथि सिद्धथानको भीरबाट खसेको पहिरोले महभीरका स्थानीय रविलाल घर्ती र काले कामीको घर भत्किएको हो । पहिरोले घर्तीको दुईतले पक्की घर तथा कामीको एकतले घर पहिरोले पुरेको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले जानकारी दिनुभयो । पहिरोले घर्तीको गोठमा बाँधेको एकवटा गोरु र एकवटा राँगो पनि पुरिएर मरेको उहाँले बताउनुभयो । वर्षासँगै रातको समयमा खसेको पहिरोले घरगोठ र पशु चौपायाको क्षति भए पनि मानवीय क्षति भने नभएको गाउँपालिका अध्यक्ष गर्बुजाको भनाइ छ ।

पहिरो खसेर घर भत्किएपछि विस्थापित बनेकाहरुलाई भने अहिले आफन्तकोमा व्यवस्थापन गरेर राखिएको छ । पहिरोले महभीरका १६ घर जोखिममा परेका छन् । गाउँपालिका र वडा कार्यालयले पहिरोबाट पीडित बनेकाहरुको व्यवस्थापन गरिरहेका बताएका छन् । पहिरो गएको महभीर क्षेत्रको गाउँपालिका अध्यक्ष गर्बुजा, ओखरबोटका वडा अध्यक्ष भजेन्द्रमान पुनसहित जनप्रतिनिधि र इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरीको टोलीले स्थलगत निरीक्षण तथा अनुगमन गरेको जनाएको छ ।

पहिरोका कारणले गाउँमा खानेपानी अस्तव्यस्त हुनुका साथै गोरेटो बाटो बगाएपछि एक वस्तीबाट अर्को वस्तीमा जान समस्या भएको जनाइएको छ । कमजोर भू–बनोट, भिरालो जमिन र निरन्तरको वर्षा भएपछि पहिरो खसेको स्थानीयवासी बताउँछन् । पहिरो खसेको क्षेत्रको स्थलगत अनुगमन र निरीक्षणसँगै क्षतिको विवरण पनि सङ्कलन भैरहेको छ ।