images
images

बागलुङ नगरपालिकाद्धारा पहिलो पटक फलफुलको मूल्य निर्धारण

बागलुङ नगरपालिकाले पहिलो पटक फलफुलको मूल्य निर्धारण गरेको छ । बागलुङ नगरपालिका उपभोक्ता हित संरक्षण समितिको बैठकले फलफूलको मूल्य निर्धारण गरेको हो ।
नगरपालिकाले व्यवसायी तथा सरोकारवालासँगको परामर्शपछि फलफुलको खरिद तथा बिक्री मूल्य तोकेको हो । सदरमुकामका पसलै पिच्छे फलफूलको मूल्य फरक फरक भएको गुनासो बढेपछि मूल्य निर्धारण गरिएको बागलुङ नगरपालिकाका उपप्रमुख तथा नगर स्तरिय उपभोक्ता हित संरक्षण समितिका संयोजक राजु खड्काले बातउनुभयो ।

नगरपालिकाले जिल्ला प्रशासन, खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय, उपभोक्ता मञ्च र फलफुल व्यवसायसँग सम्बन्धित संगठनहरुको परामर्शपछि फलफुलको मूल्य तोकेको खड्काले बताउनुभयो । नगरपालिकाले स्याउ र केराको मूल्य निर्धारण गरेको हो । १ सय ८० रुपैयाँमा विक्रि हुँदै आएको भारतीय केराको मूल्य प्रतिदर्जन १ सय ५० निर्धारण गरिएको छ ।
नेपालको तराईमा पाईने केराको बिक्री मूल्य १ सय ४० तोकिएको छ । खरिद मूल्य बिल बिजक अनुसार हुने उल्लेख छ । त्यस्तै स्थानीय केरा सानो कोशाको प्रतिदर्जन १ सय २० र स्थानीय केरा ठुलो कोशाको प्रतिदर्जन १ सय ५० मूल्य तोकिएको छ । स्थानीय मुरे केराको भने प्रतिगोटा १५ रुपैयाँ खरिद र २० रुपैयाँ बिक्री मूल्य तोकिएको छ ।

मुस्ताङको स्याउ ठुलो रातो दानाको मूल्य प्रतिकिलो २ सय ५० र रातो सानो दानाको प्रतिकिलो २ सय २० तोकिएको छ । गोल्डेन स्याउको प्रतिकिलो बिक्री मूल्य २ सय ४० तोकिएको खड्काले जानकारी दिनुभयो । चिनबाट नेपाली बजारमा आउने फुजी स्याउ ठुलो दानाको ३ सय ८० र सानो दानाको ३ सय ५० मुल्य तोकिएको हो । स्याउ चाईनिज डेलीको भने प्रतिकिलो २ सय ५० मुल्य तोकिएको छ । समितिले अन्य फलफुलको भने मूल्य तोकिएको छैन् । चाडवार्ड नजिकिएका बेला बजारमा कालोबजारी हुनसक्ने भएकाले तत्कालका बागलुङ बजारमा मुल्यमा गुनासो आएको स्याउ र केराको मूल्य तोकेको बताउदै अन्य फलफूलको मूल्य आवश्यकता अनुसार निर्धारण गरिनेछ ।