
राष्ट्रिय प्रसारण लाइन नपुगेका गण्डकी प्रदेशका सात स्थानीय तहका १ हजार २ सय पाँच घरधुरीमा घरेलु सौर्य ऊर्जा प्रविधि जडान गरिएको छ ।
मुस्ताङ, म्याग्दी, मनाङ र गोरखाका विकट गाउँमा सौर्य ऊर्जा मार्फत बिजुली पु¥याइएको हो । प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका अनुसार बागलुङको ढोरपाटन नगरपालिका–६ का तीन सय ९१ घरधुरीमा सौर्य ऊर्जा जडानको क्रममा रहेको छ ।
तत्काल राष्ट्रिय प्रसारण लाइन जोडिने सम्भावना नभएका ठाउँमा प्रदेश सरकारको अनुदान सहयोगमा सौर्य ऊर्जा जडानको काम भइरहेको मन्त्रालयको ऊर्जा शाखाका इन्जिनियर जीवन श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठले सौर्य ऊर्जा प्रविधि जडानका लागि प्रदेश सरकारले ७५ प्रतिशत अनुदान दिने गरेको बताउनुभयो । प्रदेश सरकारका मन्त्रालय र सम्बन्धित कार्यालयमा पनि विद्युत् सेवा नियमित गर्न संस्थागत सौर्य ऊर्जा जडान गरिएको उहाँको भनाइ थियो । उर्जा मन्त्रालयमा ३०, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा २९, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ४१ र विभिन्न जिल्लामा ९२ किलोवाट गरी कुल एक सय ९२ किलोवाट क्षमताको सौर्य ऊर्जा जडान गरिएको हो ।
मन्त्रालयको तथ्याङ्क अनुसार राष्ट्रिय प्रसारण लाइन र नवीकरणीय ऊर्जा मार्फत गरी प्रदेशका ९९ दशमलव ५० प्रतिशत घरधुरीमा बिजुलीको पहुँच पुगेको छ । बाँकी रहेका शून्य दशमलव पाँच प्रतिशत घरधुरीमा बिजुली पु¥याउने कार्य भइरहेको इन्जिनीयर श्रेष्ठले जानकारी दिनुभयो । बागलुङ, तनहुँ र नवलपुरका केही ठाउँमा बिजुली पु¥याउन बाँकी रहेको श्रेष्ठले जानकारी दिनुभयो ।