
वर्षा र असिनाका कारण बागलुङमा यसबर्ष स्याउ उत्पादन घटेको छ । बिषेशगरि ढोरपाटन र निसेलढोर क्षेत्रमा यस बर्ष स्याउ उत्पादन घटेको हो ।स्याउ उत्पादनमा कमि आएपछि उक्त क्षेत्रका किसानहरु निराश भएका छन् । ढोरपाटन क्षेत्रमा हिमपातसँगै पानी र वर्षाका कारण स्याउ उत्पादन घटेपछि व्यावसायिक उत्पादनमा अग्रसर भएका किसान समस्यामा परेका हुन् ।
निसीखोला गाउँपालिका–५ मसगाउँका ७३ वर्षका जुमबहादुर बुढाथोकी मगरले गतवर्ष इटालियन र स्थानीय प्रजातिका बोटबाट १५ क्विन्टल स्याउ उत्पादन गरेर बिक्री गरेपनि यसपटक स्याउ बगान रित्तै भएको गुनासो गर्नुभयो । इटालियन प्रजातिका ३ सय र स्थानीय प्रजातिका २ सय स्याउका बोट रहेको स्याउ बगानमा गत चैत र वैशाखमा परेको असिनाका कारण क्षेती भएपछि उत्पादनमा कमी आएको उहाँले बताउनुभयो । दुई वर्षअघि मात्रै लगाइएको इटालियन प्रजातिको स्याउ गत वर्ष राम्रो उत्पादन दिएको भएपनि यस वर्ष उत्पादनमा कमी आएको उहाँले सुनाउनुभयो ।
ढोरपाटन–९ का किसान रामबहादुर घर्तीले समेत १ सय ८१ वटामध्ये केही बिरुवामा गत वर्षदेखि स्याउ फल्न थालेको जानकारी दिदै यसवर्ष भने असिनाका कारण स्याउ निकै कम फलेको बताउनुभयो । ढोरपाटन क्षेत्रमा २ सय भन्दा बढी किसानले परम्परागत र एक दर्जन किसानले व्यावसायिक स्याउखेती गर्दै आएका छन् ।