images
images

बरेङ बाटाकाचौरमा नव निर्मित वडा भवन राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाद्वारा उद्घाटन

बागलुङको बरेङ गाउँपालिका वडा नं। ३ बाटाकाचौर नयाँ वडा कार्यालय भवनको आईतबार उद्घाटन गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले दिप प्रज्वलन तथा शिलालेखको उद्घाटन गरेको कार्यक्रमलाई सम्बोधन गर्दै भवन नयाँ भन्दा पनि स्थानीय सरकार नागरिकसंग प्रत्यक्ष रहने भएकोले नागरिकहरुलाई सेवा प्रवाहमा सुविधा सम्पन्नताका साथै छिटो छरिटो सेवा दिनु पर्ने बताएका छन् ।

उनले जनप्रतिनिधि र कर्मचारी बीचको सम्बन्ध सकरात्मक पक्षमा रहेर नागरिकहरुलाई सेवा प्रवाह गरेमा नागरिकको नजिक भईने भन्दै बरेङ गाउँपालिकाको बिकासका लागी स्थानीय सरकारले आफुसंग राखेका बिकासका समस्याहरुमा सक्दो सहयोग रहने प्रतिवद्घता व्यक्त गरेका छन् । उनले बरेङ गाउँपालिकाले शिक्षा र स्वास्थमा ल्याएको कार्यक्रमहरु नागरिकहरुमा प्रभावकारी बनाउन जोड दिनु पर्ने पनि बताएका छन् ।

उद्घाटन कार्यक्रममा विशिष्ट अतिथी पूर्व प्रतिनिधि सभा सदस्य डा।सूर्य पाठक, विशिष्ट अतिथी बरेङ गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्मा, बरेङ गाउँपालिका वडा नं। ५ का वडा अध्यक्ष अमर शेरपुर्जा, नेकपा माओवादी केन्द्रका बरेङ गाउँपालिका अध्यक्ष सन्त बहादुर श्रीस लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

शुभकामना मन्तव्य राख्दै विशिष्ट अतिथी गाउँपालिका अध्यक्ष शर्माले स्थानीय सरकारलाई संघीय सरकारले हेर्ने दृष्टी अघिल्ला वर्षहरुमा भन्दा फरक भएको गुनासो गरेका थिए । उनले योजनाहरु बहुवर्षिय राखिदिने तर योजना शुरु गरे पनि निरन्तर संघबाट वजेट विनियोजन नहुदाँ योजना सम्पन्न गर्न स्थानीय सरकार मर्कामा परेको पनि बताएका छन् ।

उनले ‘सिंह दरबार गाउँगाउँमा’ भन्ने नाराले ‘दरबार’ संघ मै राखी ‘सिंह’ मात्र गाउँमा पठाएको भन्दै संघीय सरकारले स्थानीय सरकारसंग बिकास निर्माणको लागी समन्वय गरी प्राथमिकताको आधार बनाउनु पर्नेमा संघले वजेट विनियोजनमा भनसुनको माध्यमले गर्दा प्राथमिकतामा रहेका र अति आवश्यक योजनाहरु ओझेलमा परेको पनि बताएका छन् ।

कार्यक्रममा नौमती पञ्चे बाजा सहित पूर्व वडा नं। ३ का वडा अध्यक्ष स्वर्गिय पूर्ण खनालको सालिकलाई पुरानो वडा कार्यालय देखी नयाँ वडा कार्यालयमा स्थानान्तर गरिएको थियो । कार्यक्रममा गीत र नाचद्वारा अतिथीहरुको सत्कार गर्दै अतिथीहरुलाई खादा तथा मायाको चिनोले सम्मान गरिएको थियो ।

कार्यक्रम वडा नं।३ का वडा अध्यक्ष शेर बहादुर खनालको अध्यक्षता, वडा नं।३ का वडा सदस्य शोभा थापाको स्वागत र वडा सचिव कृष्ण प्रसाद रिजालको सञ्चालनमा सम्पन्न भएको थियो ।