images
images

नेपाल जेसीजको क्षेत्र (ख) सम्मेलनको सबै तयारी पुरा

म्याग्दीमा हुने नेपाल जेसीजको क्षेत्र (ख) सम्मेलनको सबै तयारी पुरा भएको छ । म्याग्दी जेसीजको आतिथ्यमा सम्पन्न हुन गैरहेको सम्मेलनका लागि आवश्यक सबै तयारी सकिएको म्याग्दी जेसीजले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो ।

सम्मेलनका निर्देशक तथा म्याग्दी जेसीजका पूर्व अध्यक्ष सुविन श्रेष्ठले पत्रकार सम्मेलनमा बिहीबार र शुक्रवार म्याग्दी सदरमुकाम बेनीमा हुन गैरहेको नेपाल जेसीजको क्षेत्र (ख) सम्मेलनको आवश्यक सबै तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । क्षेत्रीय सम्मेलनका लागि हालसम्म पत्राचार तथा प्रचारप्रसार गर्नुका साथै खुलामञ्चमा मञ्च व्यवस्थापन, बेनीबजारमा प्रवेशद्वार निर्माण, बजारमा तुल, व्यानरहरु टाँगिसकिएको जानकारी दिनुभयो ।

सम्मेलनमा भाग लिन देशभरबाट करिब ७ सयजना जेसीजकर्मीहरु बेनीमा जम्मा हुने भएका छन् । सम्मेलनको अवसरमा म्याग्दी जिल्लास्थित विभिन्न जातजातिहरुको भेषभूषा र झाँकी प्रर्दशनी, कला, संस्कृति एवं नृत्यलगायत लोपोन्मुख गीतसङ्गीहरु समेत प्रस्तुत गरिने भएको छ । म्याग्दीमा हुने जेसीजको सम्मेलनमा सहभागी प्रतिनिधिहरुलाई म्याग्दीमा उत्पादन हुने अर्गानिक खानेकुरा खुवाउनेदेखि जिल्लाको पहिचान बनेको अल्लो पुवाको झोला र पसिद्ध तथा संसारभर चर्चित कालीगण्डकी नदीको शालिग्राम शिला मायाको चिनोस्वरुप उपहार दिइने सम्मेलनका निर्देशक श्रेष्ठले बताउनुभयो ।

जेसीजको क्षेत्रीय सम्मेलनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यो सम्मेलनले म्याग्दीको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्नुका साथै छिमेकी जिल्लाहरुको समेत पर्यटन प्रवद्र्धन हुने अपेक्षा गरिएको छ । सम्मेलनलाई लक्षित गरेर म्याग्दी जेसीजले प्रकाशन गर्दै आइरहेको ‘बिम्ब’ नामक स्मारिका र ब्रोसर समेत प्रकाशन गरिएको छ । म्याग्दी जेसीजको आतिथ्यमा हुने नेपाल जेसीजको क्षेत्र (ख) सम्मेलन सबैको साझा सम्मेलन भएको जनाइएको छ ।

पत्रकार सम्मेलनमा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष विकास मानन्धर र सम्मेलन सभापति रजनी थापाले पनि आफ्नो भनाइ राख्नुभएको थियो । कार्यक्रम म्याग्दी जेसीजका शाखा अध्यक्ष सुमन बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो । नेपाल जेसीजको क्षेत्रीय सम्मेलनले म्याग्दीमा एक करोड रुपैयाँ बराबरको कारोबार हुने तथा जिल्लाको पर्यटन प्रवद्र्धन सहयोग पुग्ने जनाइएको छ ।