पुर्खौंदेखि बोल्दै आएको भाषा हराउँदै गएपछि स्थानीयले संरक्षण गर्न सरकारसँग माग गरेका छन् । अहिले बागलुङको निसीखोला गाउँपालिका–५ र ६ मा मात्रै ‘मगर खाम भाषा’ बोल्ने गरिन्छ । त्यसबाहेक अन्य क्षेत्रमा मगर भाषा बोलेको पाइँदैन ।
भुजीखोलामा मगर भाषा बोल्न छोडेपछि परम्परागत मौलिक संस्कृति पनि हराउने जोखिम बढेको छ । ढोरपाटन नगरपालिका–९ का ८० वर्षीय भैरम बुढामगरले आफूहरुको भाषा हराउने अवस्थामा पुगेको भन्दै यसको संरक्षणमा स्थानीय सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । बालबालिका विद्यालयमा जान थालेपछि भुजीखोला क्षेत्रमा बोलिने गर भाषा हराउँदै गएको उहाँको बुझाइ छ ।
ढोरपाटन नगरपालिका–४ देखि ९ सम्म बाक्लो मगर बस्ती छ । आधुनिक प्रविधिको विकास र अरुको देखासिकीका कारण आफ्नो मौलिक भाषा हराउँदै गएको बुढामगरको भनाइ छ । उहाँका अनुसार यस क्षेत्रमा बोलिने मगर भाषालाई स्थानीयले ‘भुजेल भाषा’ भन्ने गर्दथे ।
निसीखोला गाउँपालिकाले भाषा संरक्षणका लागि ‘मगर खाम भाषा’को पाठ्यक्रम बनाएर पठनपाठन सुरु गरेकाले यहाँ भने लोप हुने अवस्था नआएको स्थानीयको भनाइ थियो । ढोरपाटनमा पनि विद्यालय तहदेखि नै पाठ्यक्रम बनाउनुपर्ने स्थानीयको माग छ ।
ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले मगर भाषासँगै अन्य मौलिक संस्कृति पनि हराउँदै गएको भन्दै यसको संरक्षणका लागि पालिकाले योजना बनाएर अघि बढ्ने बताए । अहिले गाउँमा बुढापाकाले मौलिक भाष बोल्ने गरे पनि युवापुस्ताले नबुझ्ने उहाँको भनाइ थियो ।