images
images

धौलागिरी अस्पताल बागलुङमा सीटीस्क्यान मेसिन जडानको काम

धौलागिरी अस्पताल बागलुङमा सीटीस्क्यान मेसिन जडानको काम भइरहेको छ । सीटी स्क्यान जडानको लागि पोल राख्ने, तार जडान गर्ने लगायतका कामहरु भइरहेको अस्पतालले जनाएको छ ।

अस्पतालका प्रमुख डाक्टर रवीरंजन प्रधानले सीटीस्क्यान मेसिन जडानको काम भइरहेको केहिदिन भित्रै सिटिस्क्यानको सेवा शुरु हुने जानकारी दिनुभयो । अघिल्लो आर्थिक बर्षमा सीटीस्क्यान मेसिन जडान गर्ने भनिएपनि प्रक्रिायमा ढिलाई हुँदा हालै मात्र जडानको काम सुरु गरिएको हो ।

करिब ७ करोड रुपैयाँ लागतमा खरिद गरिएको सीटी स्क्यान मेसिन जडान गरि सेवा संचालन गरिने डा प्रधानले बताउनुभयो । मेसिन जडान भएपछि बिरामीहरु थप लाभान्वित हुने उहाँको भनाई थियो

सीटी स्क्यान मेसिन जडान गरिए शरीरका विभिन्न भागका क्यान्सर, टाउकोमा रगत जमेको, पेट, छाती सम्बन्धी रोग, शरीरका विभिन्न भागको प्यारालाइसिस, चोटपटक लागेका बिरामी, फोक्सोको क्यान्सर, शरीरको आन्तरिक चोट, रगत जमेको, टाउकोमा नसा फुटेको, आन्द्रा बटारिएको, जोर्नी लगायतका रोगको निदान गर्न सहज हुने उहाँले बताउनुभयो ।

अहिले सीटी स्क्यान जडान नहुँदा महिनामा करिब ६० जना त्यस्ता विरामीलाई पोखरा, काठमाण्डौमा रहेका अस्पतालमा रिफर गरिदै आएको छ । सीटी स्क्यान जडान भएमा भने बाहिर जानु पर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।