अन्तरदेशीय व्यापार मेला चार वर्षदेखि रोकिँदा स्थानीय मर्कामा

मुस्ताङको कोरला नाकामा परम्परागत रूपमा लाग्ने अन्तरदेशीय व्यापार मेला रोकिँदा माथिल्लो मुस्ताङका स्थानीय मर्कामा परेका छन् ।

कोभिड–१९ को महामारीका कारण रोकिएको व्यापार मेला अझै सञ्चालन नहुँदा स्थानीय मर्कामा परेका हुन् ।

चार वर्षदेखि व्यापार मेलाको आयोजना नगरिदा मुस्ताङका दुई गाउँपालिकाका स्थानीयहरूको जनजीवन प्रभावित बनेको छ । नेपाल र चीनको सीमा क्षेत्र कोरलामा विगतमा हरेक वर्षको दुई पटक व्यापार मेलाको आयोजना हुने गरेको थियो ।

व्यापार मेलामा चीनमा उत्पादित लत्ताकपडा, पेय पदार्थ, चाउचाउ, साबुन, च्याङ्ग्रा, भेडा, चौँरी, फर्निचर, इलेक्ट्रोनिक्स सामान र निर्माणका सामाग्री, विभिन्न किसिमका कस्मेटिक सामान तथा नेपाली उत्पादन चाउचाउ, हस्तकला, चाँदीका भाँडा, गलैँचा, पस्मिना र यार्सागुम्बाको व्यापार हुने गरेको थियो ।

मेलाले दुवै देशका नागरिकको सम्बन्धलाई जोड्नुका साथै मेलाले सामानको आयत निर्यात र व्यावसायिक सम्बन्धको विकास गराएको थियो । कोरनाका कारण रोकिएको मेला चिनियाँ पक्षले पुनः आयोजना गर्न चासो नदिँदा लोमान्थाङवासीहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।

मेलाका विषयमा दुवै तर्फबाट स्थानीय स्तरमा बैठक र छलफल भएपनि चीनको केन्द्र सरकार सकारात्मक नभएकाले व्यापार मेला अनिश्चित भएको लोमान्थाङ गाउँपालिका २ छोसेरका वडाअध्यक्ष कर्म नामगेल गुरुङले बताउनुभयो । चार वर्षदेखि व्यापार मेलाको आयोजना नहुँदा दुवै तर्फका स्थानीय व्यापारीलाई समस्या भएको वडाध्यक्ष गुरुङको भनाई थियो ।