images
images

बागलुङमा ११ वर्षपछि चार पांग्रे सवारीसाधनको लाइसेन्स परीक्षा सुरु

बागलुङ, २७ भदौ

बागलुङमा ११ वर्षपछि चार पांग्रे सवारीसाधनको लाइसेन्स परीक्षा सुरु भएको छ । सवारी लाइसेन्स परीक्षा सञ्चालन तथा व्यवस्थापन मापदण्डअनुसारको पूर्वाधार नहुँदा २०६९ सालदेखि रोकिएको परीक्षा बुधबारदेखि सुरु भएको हो ।

गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशम जुग्जालीले परीक्षाको सुरुआत गर्नुभएको थियो । उहाँले यो अभियान अब नरोकिने गरी सुरु भएको समेत बताउनुभयो । यस अघि बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका परीक्षार्थीले लाइसेन्सका लागि पोखरा वा अन्यत्र जानुपर्थ्यो ।

मापदण्ड पुगेको पूर्वाधार अभाव भएपछि यातायात व्यवस्था कार्यालयले भाडामा लिन बोलपत्र आब्हान गरेको थियो । पहिलोपटकको बोलपत्रमा पूर्वाधार पुगेका निजी क्षेत्र समेत नभेटिएपछि फेरी दोस्रोपटक आब्हान गर्दा यहाँको धौलागिरि ड्राइभिङ सेन्टर प्रालिको मापदण्ड पुगेको भेटिएको हो । उक्त संस्थासँग सम्झौता गरेर यातायात व्यवस्था कार्यालय बागलुङले परीक्षा थालेको हो ।

बुधबारको परीक्षामा १ सय १० जनाले बी समूहको ट्रायल परीक्षा दिएको कार्यालयका प्रमुख पारसिह थापाले बताउनुभयो । चार पाग्रे भित्रका बी, सी, ई, एफ र जी समूहको परीक्षा बागलुङमै हुनेछ । यसअघि मोटरसाइटल र स्कुटरको प्रयोगात्मक परीक्षा मात्र यहाँ भइरहेको थियो ।

बागलुङ नगरपालिका १ को गणेशस्थानमा रहेको ड्राइभिङ सेन्टरलाई स्थायी रुपमा परीक्षा सञ्चालन गर्ने गरी सीसी क्यामेरा, सुरक्षा व्यवस्था र कर्मचारीको समेत व्यवस्थापन गरिसकिएको कार्यालयका अधिकृत श्यामकुमार थापाले बताउनुभयो । त्यसका लागि मन्त्रालयले पनि सहमति दिएको छ ।