
बागलुङको उच्च पहाडी क्षेत्रमा रहेको तमानखोला गाउँपालिकाले आलु महोत्सव गर्ने भएको छ ।
आलु उत्पादनमा उर्वर मानिदै आएको गाउँपालिकाले आलु प्रवद्र्धन र बजारीकरणका लागि आगामि असोज १ गतेदेखि ४ गतेसम्म आलु महोत्सव आयोजना गर्ने भएको हो ।
कृषकलाई बजारसँग जोड्न र उत्पादनलाई थप बढाउनका लागि आलु महोत्सवले टेवा पुग्ने भएकाले वडा नम्वर ४ स्थित लाम्मेलामा आलु महोत्सव गर्न थालेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले जानकारी दिनुभयो ।
पर्यटकीय क्षेत्र सोलेडाँडाका काखमा अवस्थित लाम्मेलामा आयोजना गरिएको महोत्सवले कृषकलाई आलु उत्पादन गर्नेतर्फ थप आकर्षित गर्ने उहाँको भनाइ थियो । प्रचारप्रसार र बजारीकरणको अभावमा किसानले उत्पादन गरेको आलु बजारसम्म नपुग्ने भएकाले महोत्सवको आयोजना गरिएको उहाँले बताउनुभयो ।
अहिलेसम्म लाम्मेलाको आलुले बजार नपाउँदा किसान मर्कामा पर्ने गरेको भन्दै महोत्सवले तमानखोलाको आलु देशका विभिन्न सहरमा पुग्ने वातावरण सिर्जना गर्ने उहाँको बिश्वास रहेको छ । महोत्सवका अवसरमा स्थानीय झाँकी, कला, संस्कृति प्रदर्शन गरिने र आलुबाट बनाइएका परिकारका कक्ष पनि राखिने जनाइएको छ ।