
बागलुङ,
‘समाज रुपान्तरणमा हाम्रो अभियान’ भन्ने मूल नारा सहित सुनौलो बागलुङ संस्थाले बागलुङको जैमिनी नगरपालिकाका दुई जना विरामीलाई आर्थिक सहयोग गरेको छ ।
संस्थाले जैमिनी नगरपालिका–१ कुश्मीसेरा सामरुन्टाका कलेजो फेल भएका धन बहादुर थापा र जैमिनी नगरपालिका–१० का पाठेघर र स्तन क्यान्सर रोगबाट पीडित जालपिदेवी उपाध्यायलाई नगद सहयोग गरिएको सुनौलो बागलुङका अध्यक्ष दिलिप प्रतेलले जानकारी दिनुभयो ।
विगत ७ महिनादेखि कलेजोमा समस्या देखिएका कुस्मिसेराका थापालाई ३० हजार र राङ्खानी दोबानका पाठेघर र स्तन क्यान्सर पीडित जालपी देवि उपाध्यायलाई ५० हजार रुपैयाँ सहयोग गरिएको अध्यक्ष प्रतेलले बताउनुभयो । दुई जनालाई ८० हजार रुपैयाँ सहयोग गरिएको हो ।
वैदेशिक विभागका कोषाध्यक्ष एवं संस्थाका आर्थिक संयोजक चित्र श्रीसको पहलमा संकलन गरिएको रकम हस्तान्तरण गरेको अध्यक्ष प्रतेलले जानकारी दिनुभयो । कार्यक्रममा समाजसेवी जयराम आचार्य, संस्थाका सल्लाहकार दिलिप पुलामी मगर, समाजसेवी हेमन्त थापा र सहारा क्लब कुस्मिसेराका उपाध्यक्ष मिलन सिन्जाली मगरले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सुनौलो बागलुङ संस्थाका केन्द्रिय अध्यक्ष दिलिप प्रतेलको अध्यक्षता र केन्द्रिय सल्लाहकार तथा जैमिनी नगरपालिका–९ का वडा सदस्य मिना परियारको प्रमुख आतिथ्यता संस्थाका केन्द्रिय कोषाध्यक्ष रोशनी भुजेलको स्वागत र संस्था केन्द्रिय सचिव बबिन शर्माको संचालनमा सम्पन्न भएको थियो ।