images
images

पर्वतको बाँसखर्कका सुन्तला नेपालकै स्वादिष्ट भएको निष्कर्ष

पर्वतको बाँसखर्कका सुन्तला नेपालकै स्वादिष्ट सुन्तला भएको पाइएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले गरेको अनुसन्धानका क्रममा बाँसखर्कका सुन्तला नेपालकै स्वादिष्ट सुन्तला भएको पाइएको हो ।

गण्डकी प्रदेशमा बाँसखर्कको सुन्तला भनेर ब्राण्ड बनिसकेको सुन्तलाको जातमा केही बर्षको अनुसन्धान गरी सिफारिस गरेपछि व्यावसायिक उत्पादनको लागि उन्मोचन भएको छ ।
बाँसखर्क जस्तै हावापानी भएका अन्य ठाउँमा पनि उक्त जातको सुन्तला उत्पादन गर्न सकिने राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम, धनकुटाका संयोजक डाक्टर उमेशकुमार आचार्यले बनाउनुभयो ।

डाक्टर आचार्यले पर्वतको बाँसखर्कबाट ल्याइएको सुन्तलालाई अन्य २० जातका सुन्तलासँग तुलनात्मक अध्ययन गरी उत्कृष्ट ठहरिएपछि सिफारिस गरिएको बताउनुभयो । २०६३ सालदेखि अनुसन्धान गरी गण्डकी प्रदेशका १ हजारदेखि १ हजार ६ सय मीटरसम्मको उचाइका पाखो जग्गाको लागि सिफारिस गरिएको यो जातले उन्मोचित भएपछि व्यापकता पाउने आशा गरिएको बताउनुभयो ।

डाक्टर आचार्यले यो जातलाई धनकुटा, स्यांङ्जा र पर्वतमा अनुसनधान गरिएकोमा यसअघि सिफारिस भएको खोकु स्थानीयभन्दा बढी उत्पादन दिने र करिब १५ दिन छिटो पाक्ने मध्यमौसमी जात भएको पनि जानकारी दिनुभयो ।
कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक बासुदेव रेग्मीले गण्डकी प्रदेश सुन्तला उत्पादनको केन्द्र भएको र त्यसमा पनि बाँसखर्कको सुन्तलामा रहेको गुणस्तर अरु प्रचलित जातमा पाउन मुश्किल भएकोले यो जात उन्मोचन हुनु गण्डकी प्रदेशका लागि गौरवको कुरा भएको बताउनुभयो ।